Sur Cinema

‘सिन्दूर’मा विपिन र निरुताको इन्ट्री, दाङमा धमाधम छायांकन

काठमाडौं : कस्तुरी प्रोडक्सन प्रा.लिको प्रस्तुति तथा क्लासिक सिने युनिभर्स प्रा.लिको सहकार्यमा निर्माण भइरहेको सिनेमा ‘सिन्दूर’को छायांकन यतिबेला दाङमा धमाधम भइरहेको छ । लक्ष्मण सुनारको लेखन तथा निर्देशन रहेको सिनेमामा सञ्जिव सार्कीको लगानी तथा दिनेश सिंह महराको कार्यकारी निर्माण रहेको छ ।

सिनेमाको छायांकन सुरु हुँदा पुष्प खड्का र प्रशंसा रायमाझीको नाम सार्वजनिक गरिएको थियो । अब भने सिनेमामा अभिनेता विपिन कार्की र अभिनेत्री निरुता सिंह पनि जोडिएका छन् । निर्देशक सुनारका अनुसार निरुताले केही दिनमै छायांकन सुरु गर्नेछिन् भने विपिनले दशैंपछि सेट ज्वाइन गर्नेछन् । उनीहरूको भूमिकाबारे भने निर्माणपक्षले केही खुलाएको छैन ।

संकल्प भुजेलको छायांकन रहेको सिनेमामा प्रशान्त सिवाकोटी, श्रीकृष्ण बम मल्ल र दिनेश ढकालको संगीत छ । प्रकाश हमाल निर्माण प्रमुख रहेको सिनेमामा करणबहादुर साउद मुख्य सहायक निर्देशक, रामजी लामिछाने नृत्य निर्देशक तथा एनबी महर्जन एक्सन निर्देशकका रूपमा छन् । मदन सुरखेतीको सहलेखन रहेको सिनेमाको प्रदर्शन मिति तय भइसकेको छैन ।

एक महिनाको सेड्यूलमा छायांकन भइरहेको सिनेमाले सामाजिक कथावस्तुलाई केन्द्रमा राखेको निर्देशक सुनारले बताए । उनका अनुसार सिनेमामा एक महिलाका लागि सिन्दूरको महत्व र त्यससँग जोडिएको सामाजिक तथा भावनात्मक कथालाई प्रस्तुत गरिनेछ ।