काठमाडौं । सिनेमा ‘क्याप्टेन साब’ को छायांकनका लागि काठमाडौंको तीनकुनेमा २०३० र ४० को दशकको काठमाडौंको झल्को दिने भव्य सेट तयार गरिएको छ। यो सिनेमा क्याप्टेन रामेश्वर थापाको बायोपिक हो र यसलाई निर्देशक दीपेन्द्र के खनालले निर्देशन गरिरहेका छन्।
सिनेमाको सेटमा २०३० र ४० को दशकको काठमाडौं कस्तो थियो भन्ने देखाउने प्रयास गरिएको छ। त्यतिबेलाका घरहरूको शैलीलाई ध्यानमा राखेर एकै खालका सेता र जोडिएका पुराना घरहरू बनाइएको छ।
यसका साथै, पुरानो समयको अनुभूति गराउनका लागि सडकमा पुराना गाडीहरू राखिएको छ र नेवार समुदायका मानिसहरूलाई खर्पन र डोकोमा व्यापार गरिरहेको देखाइएको छ।
निर्देशक दीपेन्द्र के खनालले यो काम सजिलो नभएको बताएका छन्। “काठमाडौंको व्यस्त सहरमा हामी दर्जनौँ पक्की नयाँ घर त बनाउन सक्दैनौँ। त्यसैले ३० र ४० को दशकको फिल आउनेगरी घरको कलर गरेका छौँ,” उनले भने। उनले त्यो बेलाको काठमाडौंलाई यथार्थपरक ढंगले देखाउनका लागि कलाकारहरूको पहिरन (कस्ट्युम) पनि सोही दशकको शैलीअनुसार डिजाइन गरिएको बताए। “जुन कालखण्डको कथा हामी भन्दैछौँ, त्यही समय देखाउने हाम्रो प्रयास हो,” उनले थपे।
गत साउन १० गतेदेखि छायांकन सुरु भएको यो सिनेमा क्याप्टेन रामेश्वर थापाको जीवनमा आधारित छ, जो पाइलट, सफल व्यवसायी र सञ्चार उद्यमीका रूपमा परिचित छन्। यसमा अभिनेता खगेन्द्र लामिछाने, अभिनेत्री सुरक्षा पन्त र सञ्जोग रसाइली मुख्य भूमिकामा छन्।
सिनेमाको लेखन र निर्देशन दीपेन्द्र के खनालले गरेका छन् भने निर्मातामा उनी स्वयम्, करण श्रेष्ठ र श्रृष्टिमा खनाल छन्। पटकथा प्रडक्सन, यार्सा स्टुडियो र रिच इन्टरटेन्मेन्टको प्रस्तुति रहेको यस सिनेमाको छायांकन काठमाडौँसँगै काभ्रेको धुमखर्क, बेथानचोक, चितवन र वीरगञ्जमा पनि हुनेछ।
‘क्याप्टेन साब’ ले नेपाली सिनेमा क्षेत्रमा बायोपिकको विधालाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ। सिनेमामा पुरानो समयको कथालाई यथार्थपरक ढंगले प्रस्तुत गर्नका लागि गरिएको मेहनतले दर्शकहरूलाई आकर्षित गर्ने अनुमान छ।















