Sur Cinema

‘कोशेढुङ्गा’को फर्स्टलुक्स : नवविवाहित जस्तो देखिने सुरक्षा

काठमाडौं : सिनेमा ‘कोशेढुङ्गा’को फर्स्टलुक्स सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको छ । निर्माणपक्षले बिहीबार फर्स्ट लुक्सका रूपमा सिनेमाको पोस्टर बाहिर ल्याएको हो । भदौ १२ गते रिलिज हुने सिनेमाको पोस्टरमा सिनेमाको मुख्य कलाकार सुरक्षा पन्त फिचर्ड छिन् ।

सुरक्षालाई ओड्ने ओडेर पछि फर्किएर हेरिरहेको अवस्थामा पोस्टरमा देख्न सकिन्छ । उनको लुक्सले उनी नवविवाहित जस्तो देखिन्छ । उनी पहाडको एक घरको आँगन छेउमा उभिएकी छन् ।

सरोज पौडेलको निर्देशन रहेको सिनेमामा सुरक्षा पन्त, आर्यन सिक्देल, नीति शाह, प्रविण खतिवडा, ऋचा शर्मा, सरोज खनाल, विशाल पहाडी, लोकमणी सापकोटा, हिउँवाला गौतम, दिनेश काफ्ले, शेखर चापागाईं, सिरु विष्ट, उद्वव सापकोटा, सविता रेग्मी, सविन कट्टेल, विकास खनाललगायत कलाकारको अभिनय छ ।महिलाप्रधान सिनेमाको मुख्य भूमिकामा सुरक्षा पन्त छिन् ।

नरदेवी फिल्मसको प्रस्तुति रहेको सिनेमामा प्रेविल कँडेल र किशोर अनुराग निर्माता छन् । कार्यकारी निर्मातामा दिनेश खड्का रहेका छन् । बाबु श्रेष्ठको डीओपी रहेको सिनेमामा नहकुल खड्काको सम्पादन, आशिष अविरल र रिदम कँडेलको संगीत रहनेछ । यो सिनेमा नेपालसँगै विश्व बजारमा एक साथ प्रदर्शनमा आउने छ निर्माणपक्षले बताएको छ ।