काठमाडौं : शनिबार बाट छायांकन सुरु हुन लागेको सिनेमा ‘कल्ली’का लागि नायक उत्तम प्रधान भारतबाट नेपाल आइपुगेका छन् । उत्तमलाई सिनेमाका प्रस्तुतकर्ता किरण नेपालीले विमानस्थलमा स्वागत गरेका छन् ।
सिनेमामा उत्तमको मुख्य भूमिका छ । उनी ३५ दिनसम्म नेपालमा रहनेछन् । प्रस्तुतकर्ता नेपालीका अनुसार, सिनेमाको छायांकन अवधीभर नै उत्तम नेपालमा रहनेछन् । लेकाली इन्टरटेन्मेन्ट र कस्तुरी प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको यो सिनेमाको भोलिबाट काठमाडौंमा छायांकन सुरु हुनेछ । सिनेमामा लक्ष्मण सुनारको कथा तथा निर्देशन छ । हिमाल कडरीया र अमला देबी राई सिनेमाका निर्माता हुन् । महेश दवाडीको लेखन रहेको यो सिनेमामा सरोज नेपाली कार्यकारी निर्माताको रुपमा छन् ।
यो सिनेमामा उत्तम प्रधान, सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, नाजिर हुसेन, वर्षा राउत, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, गीता अधिकारी, कुलदिप अधिकारी, बेगम नेपाली लगायतका कलाकारहरुको अभिनय रहनेछ ।
निसाल पौडेलको छायांकन रहने यो सिनेमाका निर्माण प्रमुख सुरज आचार्य हुन् । उत्तम एक दशक भन्दा लामो समयपछि नेपाली सिनेमामा फर्किन लागेका हुन् । यो बिचमा उनले नायिका निरुता सिंहसँग एउटा म्युजिक भिडियोमा काम गरेका थिए ।















