Sur Cinema

‘लाज शरणम्’को प्रमोसनल गीत ‘हेर्दा हेर्दैमा’

काठमाडौं : महाशिवरात्रीको अवसर पारेर फागुन १४ गतेबाट रिलिज हुने सिनेमा ‘लाज शरणम्’को पहिलो गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक गरिएको छ । बिहीबार सार्वजनिक लोकलयको गीत निर्माण टिमले सिनेमा प्रचार प्रसारका लागि मात्र तयार पारेको हो । आशिष अविरल र शान्तिश्री परियारको स्वर रहेको गीतमा आनन्द अधिकारीको शब्द रचना तथा कृष्ण भारद्वाजको संगीत छ ।

गम्भीर विष्टको नृत्य निर्देशन रहेको गीतको भिडियोमा अभिनेत्री माला लिम्बू नृत्य गर्दै प्रस्तुत छिन् । हाटबजारको सेटअपमा खिचिएको भिडियोमा मालाप्रति पुरुष पात्रहरुको आकर्षणलाई देखाइएको छ । मालासहित सिनेमाका मुख्य कलाकारहरु सिताराम कट्टेल, अर्जुन घिमिरे, अर्पण थापा, विजय बराल, सागर लम्साल, हरिष निरौला लगायत गीतमा प्रस्तुत छन् । सिनेमाको यो गीतमा बिशेष भूमिकामा अभिनेता गजित बिष्ट समेत देखिएका छन् ।

सिनेमालाई कुमार कट्टेलले निर्देशन गरेका हुन् । यो उनको डेव्यु निर्देशकीय सिनेमा हो । उनले चर्चित टेलिसिरियल ‘सक्किगोनि’को भने निर्देशन गर्दै आइरहेका छन् । सिनेमामा उनको अभिनयको बारेमा भने निर्माण टिमले कुनैपनि जानकारी गराएको छैनन् । सिनेमामा कुमार स्वयंको कथा छ भने पटकथा लेखनमा उनलाई दीपक आचार्यले सघाएका छन् ।

चर्चित हास्य टेलिसिरियल ‘सक्किगोनि’ समूहले निर्माण गरेको यो सिनेमामा प्रियाना आचार्य, महेश त्रिपाठी, रेणु योगी, कमलमणि नेपाल, सृजना अधिकारी लगायतको पनि अभिनय छ । अर्जुन घिमिरे ‘पाँडे’ कार्यकारी निर्माता हुन् । अर्जुनलाई गीतमा ‘सक्किगोनि’को पात्र ‘पाँडे’को गेटअपमा देख्न सकिन्छ । त्यसो त सिनेमामा पनि उनी त्यही गेटअपमा छन् । सिनेमामा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह-निर्माताको रहेका छन् ।