काठमाडौं : चैत ८ गते प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘द्रौपदी’को “कर्णाली काटौला” बोलको गीत सार्वजनिक गरिएको छ । बिहीवार राजधानीको बानेश्वरमा रहेको वान सिनेमामा कार्यक्रम गरि रवी ओड र इन्द्रकला राईले गाएको सो गीत सार्वजनिक गरिएको हो ।

निर्देशक ऋषिराज आचार्यको शब्द र रबि ओडको संगीत रहेको गीतलाई डोल्पाको शे फोक्सुण्डो ताललगायत कर्णालीको विभिन्न रमणीय स्थलमा छायांकन गरिएको छ । डेब्यु अभिनेत्री आश्वीनी शाही,निर्देशक ऋषिराज, गायक रबि र सुजाता तिमिल्सीना प्रेमील भाव प्रस्तुत गरिएको गीतको कोरियोग्राफी बिष्णु ठडराईले गरेका हुन् ।
कार्यक्रममा बोल्दै निर्देशक आचार्यले आफुले अत्यन्तै मौलिक विषयबस्तुमा सिनेमा निर्माण गरेको बताउनुभयो । उनले कथाको मागअनुसारनै सिनेमामा नव कलाकारहरुको बर्चश्व रहन गएको जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय बजारलाई समेत दृष्टिगत गरिएको सिनेमाको गीतमा कर्णालीको सौन्दर्यता झल्कीएको छ ।

डेब्यु अभिनेत्री आश्वीनी शाहीले `द्रौपदी´ बाट आफू निकै आशावादी रहेको बताइन । करिब ४ सय जना आवेदकहरु मध्येबाट द्रौपदीको भुमिकाका लागि छनौट भएकी आश्वीनीले निकै मिहीनेतका साथ अभिनय गरेको स्मरण गरिन ।
सिनेमाको छायांकन डोल्पामा करिब डेढ महिनासम्म गरिएको थियो । यही सिनेमाबाट ठूलो पर्दाको अभिनयमा डेब्यु गरेका गायक रबिले आफुले पाएको चरित्र र भुमिकामा न्याय गर्ने कोसिस गरेको बताए । उनले आफुलाई मन परेको र गर्न सक्छु भन्ने लागेकाले अभिनय गरेको प्रस्ट पार्दै आफू सुहाउँदो भुमिका पाएमा अभिनयलाई निरन्तरता दिने बताए ।

अर्की डेब्यु अभिनेत्री सुजाता तिमिल्सिनाले सुटिङका क्रममा आफू दुर्घटनामा परेको स्मरण गर्दै बिकट भौगोलिक अवस्थाका कारण निकै कस्टपूर्वक सुटिङ गर्नु परेको बताइन ।

सिनेमा आश्वीनी,रबि ओड, कबिराज , जेल्सन अधिकारी, सुजाता तिमल्सिना , बिस्णु ठडराई ( सुबास ), प्रकाश ज्ञवाली ,सीता बौडेल, सुरज अधिकारी र ऋषिराज मुख्य भुमिकामा छन । निर्देशक ऋषिराजकै लेखन,गीत अनि निर्माण रहेको सिनेमाको सम्पादन अनिल महर्जनले गरेका हुन् । सौरभ शर्माको पार्श्व संगीत रहेको सिनेमालाई मोहनकुमार झिल्लुले खिचेका हुन् ।
आर बि मुभिजको ब्यानरमा बनेको सिनेमाको सहनिर्मातामा ऋतु आचार्य र बिष्णु ठडराई हुन् । सिनेमालाई एप्पल इन्टरटेन्टमेन्ट ,एफ डि कम्पनी र रिच इन्टरटेन्टमेन्टले संयुक्त रुपमा बितरण गर्दैछ ।















