Sur Cinema

फ्राइडे रिलिज : सिनेमाघरमा ‘खुस्मा’

काठमाडौं : संविधान दिवसका अवसर पारेर आजदेखि देशभरका सिनेमाघरमा सिनेमा ‘खुस्मा’ प्रदर्शनमा आएको छ । सिनेमाको मंगलबार काठमाडौंमा प्रिमियर गरिएको थियो । जहाँ सिनेमाले राम्रो प्रतिक्रिया पाएको थियो ।

सिनेमा हेरेपछि सबैले उत्कृष्ट सिनेमा बनेको भन्दै निर्देशक अशोक थापामगर निर्देशकीय पक्ष तथा अभिनेता धीरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीको अभिनयको तारिफ गरेका थिए । सिनेमा हेरेका अधिकांशले सिनेमाको कथालाई माओवादी द्वन्द्वको असर भोग्ने सबैले आफैंलाई परेको महसुस गर्ने अनुभव सुनाएका थिए ।

एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको सिनेमाको लेखन तथा निर्देशन अशोक थापामगरले गर्नुभएको हो । उहाँले यसअघि केही डकुमेन्ट्री सिनेमा लेखन तथा निर्देशन गरेपनि यो नै ठूलो पर्दाको पहिलो निर्देशकीय सिनेमा हो ।

सिनेमामा धीरज र उपासनाका अलवा माओत्से गुरुङ, खड्कबहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापामगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगरलगायत कलाकारको अभिनय छ । मगर समुदायको परिवेशमा निर्माण भएको प्रेमकथामा आधारित सिनेमाले माओवादी द्वन्द्वको प्रभावका बीच अंकुराएको प्रेमलाई समेटेको छ ।