Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

सिनेमा ‘१२ गाउँ’ : फर्स्टलुकमा समिरको रिसाहा लुक्स, दशैँमा प्रदर्शन हुँदै

काठमाडौं : अभिनेता बिराज भट्ट निर्देशित सिनेमा ‘१२ गाउँ’को फर्स्टलुक पोस्टर रिलिज गरिएको छ। बिराजले आइतबार आफ्नो फेसबुक पेज मार्फत फर्स्टलुक सार्वजनिक गरेका हुन्।

पोस्टरमा नव अभिनेता समिर भट्टलाई देखाइएको छ। हातमा खुकुरी लिएर रिसाहा भावमा कतै दौडिरहेको अवस्था देखिएका छन्। कतै आक्रमण गर्न गईरहेको जस्तो पनि देखिन्छन् उनी। उनको पहिरन, अनुहारको एक्सप्रेसन अनि जिउडानले साँच्चिकै नेपाली सिनेमामा नयाँ एक्सन नायक भित्रीएजस्तो आभाष दिलाउँछ। फर्स्टलुकले वास्तवमै सिनेमाबारे कौतुहलता पैदा गरेको छ।

फर्स्टलुकसँगै बिराजले सिनेमाको प्रदर्शन मिति पनि सार्वजनिक गरेका छन्। आगामी दशैंमा सिनेमा प्रदर्शन गर्ने तयारीमा छन् बिराज। तर ठ्याक्कै गते भने उल्लेख गरेका छैनन्। यद्यपि ‘१२ गाउँ’ दशैंमा प्रदर्शन हुने चाहि पक्का भएको छ।

बिराज भट्ट फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमामा बिराजकै कथा रहेको छ। सिनेमामा पटकथा तथा संवाद भने सन्तोष सरकारको रहेको छ। सिनेमालाई महेश पौडेलले खिचेका हुन् । त्यस्तै प्रवीन केएल र भुपेन्द्र अधिकारीको सिनेमामा सम्पादन रहनेछ। बुझिए अनुसार सिनेमाको केही भागको छायांकन अझै बाँकी छ। करिब अबको १ हप्तामा छायांकन सकेर निर्माण टिम पोस्टप्रोडक्सनमा जानेछ।

समिर भट्टको डेव्यू अभिनय रहेको यो सिनेमाबाट पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले पनि डेब्यु गर्दैछन्। सिनेमामा मुरलीधर, दीया मास्के, अर्जुन जंग शाही, कनिज कोइराला, नरेन खड्का, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना लगायतका कलाकारहरुको पनि अभिनय रहेकोछ।