Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘कोमल’ अनमोल

काठमाडौं : सुनको ओछ्यानमा सुतेर चाँदीको चम्चाले खादैमा मानिस खुसी छ भनेर सोच्नु कतिको सही ? बालापन देखि आज सम्म पनि नायक अनमोल केसीले भौतिक सुखमा सम्झौता गर्नु परेको छैन् । नायक नायिका तथा निर्माता बाबुआमा भुवन केसी र सुस्मिता बमजनका छोरा अनमोलले खान लगाउन कै लागि संघर्ष गर्न परेन । तर, उनका पनि आफ्नै दु:ख रहेका छन् । कार्यक्रम ‘यक्ष प्रश्न’मा पुगेका उनले आफुलाई भौतिक रुपमा दुख नभोग्दैमा आफुलाई फरक रुपमा नबुझ्न उनले आग्रह गरेका छन् ।

बाल्यकाल अनमोलका लागि सहज थिएन । आमाबाबुको सम्बन्धमा आएको उतारचढावका कारण उनले पाउन पर्ने जस्तो पारिवारिक माहौल पाउन सकेनन् । त्यसैले उनले घर छोडेर होस्टलमा बसेर अध्ययनलाई अगाडि बढाए । यो उनको बाध्यता थियो । त्यसैले पनि होला होस्टल जाने दिन नजिकिदै गर्दा अनमोल सिरकले मुख छोपेर रुने गर्थे । त्यो पनि एक दिन दुई दिन होइन सात सात दिन सम्म । उनले आफुलाई केहीको कमी रहेको भए पारिवारिक माहौल र परिवारको माया भनेर अहिले पनि स्पस्टै भन्ने गरेका छन् ।

अनमोल उदाहरण मात्रै हुन् । हरेक दिन जसो बड्दै गरेको सम्बन्ध बिच्छेदका कारण धेरै बालबालिकाले यही अभाव भोग्न परिरहेको छ । गत वर्ष फागुन १२ गते आत्महत्या गरेकी शालिन पोखरेलको मृत्युको कारण बाबुआमाको सम्बन्ध बिच्छेद र त्यसपछी उनमा सिर्जित एक्लोपनलाई मान्न सकिन्छ । शालिन पनि उदाहरण मात्रै हुन्, हरेक वर्ष बाबुआमाका सम्बन्ध टुट्दै गर्दा धेरै सन्तानको मन टुटेको तर्फ खासै धेरैले ध्यान दिएको देखिदैन् ।

यति हुदा पनि अनमोल नमिलेको सम्बन्धमा घुटन सहित बाच्नु भन्दा अलग्गिनु नै सही सोच्छन् । सफलतामा ‘चियर अप’ गर्न मात्रै परिवार पनि तयार रहने भन्दै जसरी हुन्छ सफलताको बाटो समाउनै पर्ने र आफू भित्र खुसी खोज्नु पर्ने उनको तर्क छ ।

उनलाई बालापनमा पढाइमा रुचि थिएन साथै उनी अब्बल विद्यार्थी थिएनन् । अतिनै दुख गरेर मात्र उनी कक्षा पार गर्थे । त्यो बेला उनलाई आफू पढ्न नसक्ने रहिछु भन्ने भ्रम पनि थियो । तर, जब कोरोना महामारीका कारण लकडाउन भयो, उक्त समय उनले अध्ययनमा खर्च गरे । धार्मिक ग्रन्थ देखि सिनेमा जगतका धेरै पुस्तक अधययन गरे । यो सबमा उनले स्कोन टेम्पल र त्यहाका गुरुहरुलाई क्रेडिट दिने गरेका छन् । तर, वास्तवमा अनमोलले आफुले आफुलाई नै सक्दिन क्यारे देखि पढ्न नजान्ने सोच्नु भन्दा पनि हाम्रो शिक्षण प्रणाली मै समस्या रहेको देख्न सकिन्छ । आफ्नो रुचि भएको विषय छनौट गर्न सक्ने हो भने कोही पनि ब्यक्तीले जान्ने र नजान्नेको ट्याग भिरेर जिवनभर बोझ बोक्न नपर्ने रहेछ ।

अनमोलले सबै भन्दा धेरै आफुलाई माया गर्छन । भगवान् श्री कृष्ण मान्ने अध्यात्मिक प्रवृतिका उनले शास्त्रको अध्ययन पश्चात् नै आफुलाई माया गर्नु पर्छ भनेर सिकेका रहेछन् । आफू खुसी भए मात्रै अन्य कुरा बिस्तारमा आउने उनको सोच छ । त्यसैले उनी प्राय रमझम पार्टीहरुमा भन्दा पनि आफु भित्र खुसी खोज्छन् । ठट्टा गर्दै उनी बुढेसकालमा क्लविङ तिर मन जाला भन्ने उनी अहिले भने एक्लै नै रमाउने गर्छन । साथै निकटका आफन्त साथीभाई र आफ्नो प्रिय साथी ‘कोको'(कुकुर) को साथ रमाउछन् ।

उनले आफू अभिनय नजान्दै सिनेमा क्षेत्र प्रवेश गरेको बताउछन् । नजान्दा नजान्दै दुई चार सिनेमामा अभिनय समेत गरे भनेर स्विकार्छन पनि । बिस्तारै उनले आफुमा सुधार ल्याउदै अभिनय सिक्दै आफुलाई निखार्दै लगेका छन् रे । उनी माथी अभिनय नजान्ने नायकको आरोप छ । तर, आफू भित्र केही नभए दसौं सिनेमा सम्म आईनपुग्ने तर्क गर्छन उनी । कन्ट्रोभर्सी बाहिर ल्याउन उनको ब्यक्तिगत जीवन सम्म जो कोही घुस्न सक्दैन् । त्यसैले आफुलाई नराम्रो बनाउन चाहनेले आफ्नो काममा औला उठाएर गलत बनाउन खोजेको उनको तर्क छ ।

उनी अभिनित सिनेमा ‘फर्की फर्की’ जेठ १० गतेबाट हलमा लाग्दै छ । सिनेमाको ट्रेलरको हाईप एक्कासी माथी आएको थियो । सो लगत्तै विवाद पनि आयो सिनेमा कुनै एक हलिउड सिनेमाबाट कपि गरिएको हो भनेर । तर, अनमोल यो कपिको आरोप स्विकार्दैनन् । बरु यो सिनेमा कसैलाई पनि कपि गरिएको लाग्यो भने उनका आगामी कुनै पनि सिनेमा नहेर्न आग्रह गर्छन् । दसवटा सिनेमा सम्म आईपुग्दा कपि गरिएको आरोप खेप्न नपरेको अनमोल माथी हाल यो आरोप छ जसलाई अनमोलले ठाडै अश्विकार गरे ।

अनमोललाई सिनेमा र टेलिभिजनका पर्दामा बाहेक धेरै दर्शकले देख्न पाएका छैनन् । त्यति नै हेरेर साथै भुवन र सुस्मिताका छोराको रुपमा उनको इमेज धेरैले तयार गरेका छन् । तर, यी सब भन्दा भिन्न अनमोल अध्यात्म निकट ‘कोमल’ मन भएका एक युवा मन हुन् । जसको बारे भने धेरै कमलाई मात्रै थाहा छ ।