Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘पुजार सार्की’ मेरो लागि निकै महत्त्वपूर्ण छ : पल शाह

काठमाडौं : जेठ १० गते बाट रिलिज हुने सिनेमा ‘पुजार सार्की’का अभिनेता पल शाहले यो सिनेमामा अन्य कलाकारहरू जस्तै आफ्नो पनि महत्त्वपूर्ण भुमिका रहेको बताएका छन्। सोसल मिडिया फेसबुकबाट आफ्ना प्रशंसकलाई सम्बोधन गर्दै शाहले निर्देशकको दृष्टिकोणबाट आफुलाई सृजनशील तवरले ट्रेलरमा देखाइएको जनाएका छन् ।

उनले लेखेका छन्, “निर्देशकको आफ्नो दृष्टिकोणबाट ट्रेलरमा मलाई जति देखाउनु भएको छ, त्यो निकै सृजनशील र कौतुहलता जगाइराख्ने प्रकृतिको छ। सिनेमामा मेरो भूमिकाबारे चासो राख्नु हुने सबैमा जेठ १० गतेदेखि नेपालभरका दर्शकहरूलाई सिनेमा हलमा चुले निम्तो दिन चाहन्छु । हामी हलमै भेटौँला है।”

पलले ‘पुजार सार्की’को ट्रेलरलाई एक दिनमा नै दश लाख पटक हेरेकोमा खुसी व्यक्त गरेका छन् । उनले यो सिनेमाको ट्रेलर सार्वजनिक कार्यक्रममा उपस्थित हुन नसकेकोमा कारणसहित क्षमा मागेका छन् । “म अर्को सिनेमा ‘रावायण’को छायाङ्कनमा जनकपुर र सर्लाहीमा व्यस्त रहेका कारण सो समारोहमा निकै कोसिसका बाबजुद उपस्थित हुन सकिन, त्यसको लागि क्षमा चाहन्छु,” शाहले लेखेका छन्, “मैले यो सिनेमामा अन्य सिनेमा भन्दा निकै फरक, जटिल र महत्त्वपूर्ण भूमिकामा अभिनय गरेको छु। ट्रेलरबाट तपाईँले मेरो अभिनयबारे राख्नुभएको चासो र समर्थनप्रति आभारी छु।”

आफूसहित सहकर्मी अभिनेताहरू आर्यन सिग्देल र प्रदीप खड्काको एक तस्बिर शेयर गरी प्रशंसकलाई सम्बोधन गर्ने क्रममा उनले लेखेका छन्, “मेरा प्रशंसकहरूबाट पाइरहेको प्रतिक्रिया र गुनासाहरू मैले हेरिरहेको छु। यो सबैको लागि म धन्यवाद व्यक्त गर्न चाहन्छु । ‘पुजार सार्की’मा मेरो छोटो भूमिका रहेको भन्ने फ्यानहरूको गुनासोबारे म यो प्रस्ट पार्न चाहन्छु कि यो सिनेमामा मेरो स्क्रिन टाइम केही मात्रामा थोरै होला तर अन्य कलाकारहरूको जस्तै महत्त्वपूर्ण भूमिका भने रहेको छ।”

दिनेश राउतले निर्देशन गरेको यो सिनेमामा पलसँगै आर्यन सिग्देल, प्रदीप खड्का, अञ्जना बराइली, परीक्षा लिम्बु लगायतको अभिनय रहेको छ। यसका लेखक विकास सुबेदी हुन् भने सुवास भुसालले निर्माण गरेका हुन् ।