Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘पुजार सार्की’ ट्रेलर : अस्त्र र शास्त्रको कथा

काठमाडौं : अस्त्र र शास्त्रको कथामा निर्माण भएको सिनेमा ‘पुजार सार्की’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरले जातिय विभेद माथीको कथामा अस्त्र र शास्त्र कै कथाको बिस्तृत जानकारी दिन्छ । मैते, पुजार र मेघराजको भुमिकामा प्रदीप खड्का, आर्यन सिग्देल र पल शाह अब्बल देखिएका छन् । लभर ब्वाई छवि बनाएका तीन नायकले फरक भुमिकामा आफुलाई अब्बल देखाएका छन् ।

जातको कथामा पुराना सिनेमाकै झै अन्तरजातिय प्रेम घुसाईएको छ । प्रेम बिना जातको कथा अपुरो रहने हो कि जस्तो सार्वजनिक सामाग्री हेर्दा लागे पनि निर्माता दिनेश राउतका पुराना काम हेरेर भिन्न तरिकाले प्रस्तुत गरेको अपेक्षा गर्न सकिन्छ । सिनेमामा मैयाँ र गौमायाको भुमिकामा परीक्षा लिम्बू र अन्जना बराईलीले न्याय गरेको देखिएको छ । मुख्य कलाकार सबैले आफ्नो भुमिकालाई राम्रो बनाउन हर सम्भव प्रयास गरेको देख्न सकिन्छ ।

सिनेमाको ट्रेलरमा कथित तल्लो जात देखि माथिल्लो भनिएका जात सम्मको कथा देखाईएको छ । जहाँ आफ्नो स्वार्थका लागि देखि आफ्नो मनका लागि काम गर्ने सम्मको कथा समेटिएको छ । समग्रमा ट्रेलरले सिनेमा हेर्न दर्शकलाई उत्साह जगाउने काम गरेको छ । आगामी जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने सिनेमा ओएसआर डिजिटल मार्फत ट्रेलर सार्वजनिक गरिएको छ । सिनेमा विकास सुवेदीले लेखेका छन् भने यसअघि विकास र दिनेशले सिनेमा ‘प्रकाश’मा सहकार्य गरेका थिए । सिनेमालाई सुवास भुसालले निर्माण गरेका हुन् ।

किङ्गडम नेटवर्कको ब्यानरमा बनेको यो सिनेमा नेपालमा आरआर फिल्मसले वितरण गर्दै छ भने अन्तर्राष्ट्रिय बजारमा एमएसएम इन्टरटेन्मेन्टले वितरण गर्दैछ । निर्माता भुसालले नै यस सिनेमाका लागि सङ्गीत तयार गरेका छन् । हर्क साउद, बि. पाण्डे, दिनेश राउत र गणेश शाहीले यसका गीत रचना गरेका छन् भने प्रकाश सपूत, शान्ति श्री परियार, केतन क्षेत्री, देबेन्द बराल र मुना थटालले स्वर दिएका छन् । राजेश श्रेष्ठको छायांकन रहेको ‘पुजार सार्की’लाई भरत रेग्मीले सम्पादन तथा सुप्रिम पराजुलीले कलर ग्रेडिङ तथा हिमाल केसीले द्वन्द्व निर्देशन गरेका छन्।