Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

कपालको लम्बाई र श्रीमानसंगको सम्बन्ध : बुझिन मैले बुझाईदेउ कसैले !

दीक्षा कट्टेल

दीक्षा कट्टेल

म बाँधिएकी हुँ या सजिएकी हुँ
बुझिन मैले बुझाइदेऊ कसैले !
ब्यान्ड भएको टिकटक देखि फेसबुक इन्स्टाग्राम स्टोरी सम्म चर्चामा रहेका माथि उल्लेखित शब्द वैशाख १४ गतेबाट सिनेमा हलमा लागेको सिनेमा “बोक्सीको घर”को गीतमा प्रयोग भएका शब्द हुन् । सुलक्षण भारतीको निर्देशन, शुपला सापकोटा, सेबिता अधिकारी, केकी अधिकारी, स्वेच्छा राउत लगायतका कलाकारको अभिनय मात्र नभएर समीक्षा अधिकारीको स्वर र प्रकाश सपुतको सङ्गीतलाई पनि केही क्षण पन्छाएर हेरौँ । 

महिलालाई लिएर समभाव राख्दै गीतसङ्गीत सिर्जना गर्ने गरेका प्रकाश सपुतले लेखेका शब्द मात्रै चैँ कस्ता छन् त ? 
सिरैमा सिन्दूर आहा
गलामा पोते आहा
धोती र चोली आहा
घुम्टो र डोली आहा
छमछम हातैका चुराले
रमझम रातैका कुराले
महिला जसलाई एकै झलक हेर्दा उसको अवस्था छुट्टाउन सकियोस् भन्ने पितृ सत्ताको सोच छ ।  छिर्के मिर्के, झिलिमिली नै लाग्ने तर पुरै रातो भने होइन पहिरनमा गहना नलगाएका या अत्यन्त कम लगाएका महिला अविवाहित हुन्छन्, सिन्दूर पोते टीका चुरा र रातै पहिरन (माथि उल्लेखित गीतका शब्दलाई नै हेरौँ न) समाजले विवाहित महिला चिनाउन प्रयोग गर्ने गरेको छ । र, सेतो पहेँलो अझ भनौँ सजिलै दाग देखिने पहिरन ती नै महिलालाई पहिर्याईन्छ जसले श्रीमान् गुमाएकी छन् । रातोको नाममा एउटा सानो टीका समेत श्रीमान् गुमाएकी महिलालाई छुट दिइएको छैन्/थिएन् । र, एक महिला जसले यी तिनै अवस्था पार गरेर जाँदै गर्दा उनले कुन मानसिक स्थिति पार गर्नु पर्छ यो पितृसत्तात्मक सोचका पक्षधरले भोग्न त के सोच्न सम्म सक्दैनन् । 

भनिन्छ समय बदलियो । तर, बदलिएको समय मात्रै हो । सोचको अवस्था अझै पनि उस्तै छ । अहिले माथि उल्लेख गरिए झैँ गरी महिलाको अविवाहित विवाहित र एकल अवस्था एक झलकमा छुट्टाउन नसकिएला । तर, विवाहित महिलाले सिन्दूर पोते चुरा टीका नलगाएकोमा दैनिक जसो कहीँ न कतै बाट “टोकसो” सुन्नै पर्छ । कतिले अगाडि नै मुख खोलेर भन्लान् त कतिले पछाडि यसलाई “पधेरा गफ” (जसको  परिष्कृत रूप अहिले किबोर्डमा औला चलाएर गर्ने गरिन्छ)को विषय बनाएकै छन् । अझ धर्म गर्न भन्दै लगाइने पुराणमा बाचकहरूले “महिलाले कपाल फुको राख्नु हुँदैन देखि खाली हातले पकाएको खाना खानु हुँदैन” सम्म भन्न भ्याउँछन् ।
यी र यस्ता धेरै चलन छन् जसले बिना शृङ्गार कि महिलालाई “बोक्सी, अलछिना” जस्ता उपमा दिएर आफ्नो पुरुषत्व माथि शिर गर्भिलो बनाउँछन् । समग्रमा समाजले सुन्दर देखिने बहानामा श्रिङ्गारलाई बन्द्धनको रूपमा प्रयोग गरेको छ ।
हैन भने सपुतका शब्द पुनः नियालौँ :
म बोक्सी म देवी
म डार्लिङ म बेबी
यो थरी थरी नाताले
यो सुन्दरताको गाथाले
म बाँधिएकी हु या सजिएकी हु
एक पुरुष “बालक” हुर्किँदै गर्दा उसमा महिलाका लागि भनेर समाजले छुटाएका काममा रुचि गयो भने उसलाई आफ्नै आमाले पनि भन्ने तरिका नमिठो हुन्छ । त्यसैले कस्तो छोरी मान्छे जस्तो रहिछ, दिदीको जामा लगाउँछ, किचनमा रमाउँछ बाट सुरु भएको हुर्काई मेरो हातमा चैँ चुरा छ र ? हुँदै खान लाउन दिएकै छु, पालेकै छु सजिएर बसे भैगोनी सम्म तन्किन्छ । र, यसको पछाडिको कारण उसको पितृसत्तात्मक सोच माझको हुर्काई नै हो । तर, यो सब लेखिरहँदा मेरो मनमा भएका भावनालाई कलमको प्रयोग गरेर लेख्न ऊर्जा थप्ने अझ भनूँ उड्न खोज्दै गर्दा “तिमी उड म पखेटा लगाउन सहयोग गर्छु” भन्ने मेरा श्रीमान् पनि पुरुष नहुन भन्ने मैले बिर्सिएकी छैन् । 

एउटा बालक लक्का जवान बन्दा सम्म महिलालाई घर सम्हाल्ने र घर मै सजिएर बस्ने व्यक्तिको रूपमा सोच्छ । यसको उदाहरण सामाजिक सञ्जालमा यत्र तत्र भेटिने, श्रीमान् आकर्षित गर्ने तरिका, श्रीमान् बसमा राख्ने तरिका देखि महिलाले गर्न हुने र नहुने पाँच सात दश कुरा लगायतलाई मान्न सकिन्छ । खुलेआम आफूलाई विद्धान “क्लेम” गर्नेहरू महिलाले कुन बार नुहाउन हुने र नहुने देखि सिन्दूर लगाउनुका फाइदा र बेफाइदामा गएका भ्युजले आफू अझ सफल बनेको बुझ्छन् । 

समग्रता छोडेर मेरो आफ्नो कुरा गरौँ । मैले मेरो कपाल काटेको छु । रातो सिन्दूर लगाएर लरक्क लर्किनु पर्ने चुल्ठो मैले फ्याँकिदिए । यसको पछाडि खास कारण छैन् । मेरो लागि बढेको नङ फ्याँक्नु जस्तै मात्रै थियो र हो मेरो कपाल काट्नु पनि । तर “समाज” समाजको नजर अर्कै छ । म त समाजले स्थापित गरेको लरक्क कपालमा लामो सिन्दूर नलगाएर श्रीमान् हुँदा हुँदै कपाल फ्याँकेर असामाजिक बनिसकेकी छु । “बोक्सीको घर” को कथा उठाइएको समयकी म हुदी हो त मलाई पनि समाजले कि त घर बाहिर ननिस्किने बनाउँथ्यो या बहिस्कार गरी चार भन्ज्याङ नै कटाउँथ्यो । धन्न सोच उस्तै भए पनि मिति (दिनहरू) परिवर्तन हुँदै गएकाले मैले यो समाज नै चैँ छोड्न परेको छैन् । 

अझ विस्तृतमा कुरा गरौँ मेरो छोटो कपाल र म बसिरहेको समाजका मान्छेले गरिरहेका टिप्पणीको । म “माइत” मा छु । (म जन्मेको हुर्केको र करिब तीन दशक बिताएको मेरो आफ्नो घर एक धर्को सिन्दूर र एउटा त्यान्द्रो पोतेले कसरी “माइत” हुँदै पराई बन्यो मलाई थाह छैन्) । आमा पुस्ताले रीत नै यस्तै हो भनेर स्विकार्‍यो । अहिले मेरो पुस्ता यसको जवाफ खोज्दै रुमलिरहेको छ । आशा गरौँ छोरी पुस्ताले यो प्रश्नको जवाफ नै नखोजी स्वतन्त्र जीवन बिताउन पाउने छन् । 

अ, म “माइत” मा छु । सिन्दूर पोते चुरा टीका लगाउँदिन । अझ कपाल समेत टुट्टै छ । र, समाजमा फलानी कि छोरीलाई त “पोइ” ले छोडेछ सम्मको चर्चा हुन थालेको छ । अनि मैले बुझ्न नसकेको कुरा, मेरो कपालको लम्बाई र श्रीमान् सँगको सम्बन्धको दुरीको मापन समाजले एकै नजरमा कसरी लगाउन सक्छ ? मेरो “माइत” बसाइँले बुझाउने नै हो भने मेरो भाइलाई बुझाउन पर्ने हो । तर त्यसो भएन । उसलाई आमाको साथमा भान्जो हुर्किँदै गर्दा खुसी लागिरहेको छ । सम्बन्ध माथिको विश्वास नै त होला दिदीको घर टुट्नु र दिदी आफ्नै घर (माइत)मा बस्नु बिच कुनै सम्बन्ध नरहेको उसले बुझेको छ । तर, मलाई समाजको बुझाईको कारण फेरि बोक्सीको घर र प्रकाश सपुतका शब्दको याद दिलाउँछ,”बुझिन मैले, बुझाइदेऊ कसैले” । 

बोक्सीको घरमा “बोक्सी” को कथा छैन भनेर केकीले भनिरहँदा मैले व्यक्तिगत रूपमा म जस्तै समाजले पचाउन नसकेका “बोक्सी” हरूको कथा पो सुलक्षणले प्रस्तुत गरेका छन् कि भन्ने अनुमान लगाएकी छु । सिनेमा घरको पहुँच भन्दा परको पूर्वी जिल्ला इलामबाट यो ब्लग लेखिरहँदा अझै पनि सहर छिरेर सुपला, सेबिता, स्वेच्छा र केकीको काम हेर्ने लोभले भने छोडेको छैन् ।