Sur Cinema

Edit Content

ताजा अपडेट

हाम्रा सिनेमा, एकाउन्न दिनमा !

काठमाडौं ।
साठीको दशक ताका नेपाली सिनेमाले प्रदर्शनको ५१ दिन, १०० दिनको उत्सव धेरै मनाउथे । अझ त्यस भन्दा पुराना सिनेमाले त रजत जयन्ती नै मनाउथे । त्यसैको सिको गर्दै केही सिनेमा र सम्बन्धित सिनेकर्मी ले “कार्वन” को पैसा पनि नउठ्ने स्थिती मा घिसारेरै भए पनि ५१ दिन सम्म ल्याएको यथार्थ लाई पनि बिर्सिन सकिदैन । तर त्यस्ता जबर्जस्ती दिन तन्काइएका सिनेमा भने मान्छे का मन मा रहेनन।
हेलिकप्टर बाट पुष्प बर्षा गर्ने, रुमाल बाड्ने, दर्शक लाई मुल गेट्मा बसेर स्वागत गर्ने, सिनेमा सङ्ग सम्बन्धित कलाकार प्राबिधिक हरुलाइ उपहार देखि नगद ( बोनस )सम्म बाड्ने प्रचलन पनि थियो । खुब पर्व आएको भान हुन्थ्यो उसबेला, दशै तिहार झै रौनक आउथ्यो।
पछिल्ला दिनहरुमा त्यस प्रकारका कार्यहरु रहर, फेसन र देखावटीमा सिमित भए । आफैले घोषणा गर्यो, निर्माताको खर्चमा अरु पैसा डुबाउदै साझको रमिता बनायो। सिने दुनिया को रङ्ग नै परिवर्तन भएको भान हुन्थ्यो । तर कोरोना महामारी पश्चात् साच्ची कै ५१ दिन मनाउने सौभाग्य केही सिनेमाले पाएका छन। सिने क्षेत्रका लागि यो खुशी को कुरा हो।
दिपक-दिपा, मदन कृष्ण-हरिवंश, प्रदिप भट्टराई, राम बाबू गुरुङ्ग जस्ता सिनेकर्मीहरु लगायतका सिनेमाले गौरबमय एकाउन्न दिन मनाउने मौका पाएका छन । यस्को श्रेय ती तमाम सिनेमामा स्थल रेखदेख ( स्पोर्ट ब्वाई) गर्ने ब्यक्ती देखि उपल्लो तहका प्राबिधिकको मिहेनत र पसिनालाई जान्छ र सिनेमा लाई गौरबमय सफलताका दिन मनाउन योग्य बनाउने श्रेय ती तमाम दर्शकहरुलाई पनि जान्छ, जस्ले सिनेमालाइ आफ्नो माने, आफ्नो ठाने ।

यसै मेसो मा पछिल्लो सिनेमा छक्का पन्जाको चौथो सृङ्खलाले हिजो ५१ औं दिने प्रदर्शनको मौका पायो । उक्त टिम लाई हार्दिक बधाई । यस बर्ष मात्रै यो सिनेमा संगै कबड्डी द फाइनल म्याच र महापुरुषले पनि एकाउन्नौ दिन मनाए । मौलिक सिनेमा “झिंगेदाउ” ले पनि चालिस दिन सम्मको यात्रा सफलतापुर्वक तय गर्यो । गौरवमय ५१ दिन को उत्सव मनाइ रहदा सिनेमालाई जीवन ठान्ने केही सिनेकर्मी लाई हामिले प्रश्न गरेका छौ ।
पछिल्लो समयमा केही सिनेमाले ५१ दिन पार गर्दै गर्दा यहालाइ कस्तो महसुस भएको छ?

आज मात्रै दीपक राज गिरीको सिनेमाले यो खुसी साट्न पाएको छ । यस्तोमा उनी भन्छन,”अहिलेको समयमा ५१ औ दिन मनाउनु भनेको महाभारत जस्तै हो, किनभने पहिला पहिला त सिनेमाहलहरु थोरै हुन्थे र सिनेमाहरु धेरै दिन सम्म चल्थ्यो । अहिलेको समयमा त गल्ली गल्लीमा हलहरु छन र एउटै हलमा पनि ३/४ वटा स्कृनहरु छन । यस्तो अवस्थामा पनि सिनेमाले ५१ औ दिन मनाउनु भनेको सबै सिनेकर्मिहरुको लागि राम्रो कुरा हो । नेपाली सिने उद्द्योगको लागि पनि यो एकदमै राम्रो हो किनकी अहिले नेपाली सिनेमा हाल बिदेशी सिनेमाहरु सङ्ग जुध्ने प्रतिस्पर्धा गर्ने भैसकेको छ । नेपाली सिनेमाहरु बलियो हुँदै आएको छ । यसको लागि म खुशी छु, दर्शकहरु प्रति धन्यवाद ब्यक्त गर्न चाहान्छु ।

बरिष्ट अभिनेत्री मिथिला शर्मालाई यो एकाउन्न दिन मनाउन थालेको अवस्थामा खुसी मिलेको छ । सिनेकर्मीको हैसियतले सिनेमाको सफलता नै आफ्नो सफलता लाग्छ उनलाई । उनको भनाई,”बल्ल अब सुस्ताएको बजारले बाटो लिन थालेको छ। कहिले काही तलमाथी हुनुमा धेरै वटा कारणहरु छन । कोरोनाका कारण भएको लकडाउन लगायतका समस्याले गर्दा बिचबिचमा सिने बजार मात्रै होइन सबैलाई असर गरिरहेको थियो । सिने बजार बिस्तारै बिस्तारै माथी आउदै छ, खुशी लागेको छ ।

सिनेकर्मी नवल नेपाल भन्छन,”ब्यक्ती र समूह बिशेष लाई भन्दा पनि नेपाली सिने जगतको नै खुसी को कुरा हो। कोविड पछिका विभिन्न अड्कल बाजि लाई चिर्दै सिने जगत ले जुन प्रकारको रौनक प्रदान गरेको छ, सरोकारवाला, श्रीजनाकार र श्रम जिवि सिनेकर्मी का लागि गौरव को कुरा हो। सबै भन्दा महत्वपुर्ण कुरा, हिजो दोश्रो मुलुकका सिनेमा सङ्ग ढुलमुल हुँदै गर्दा आज नेपाली सिनेमाले यो छलाङ्ग मार्नु, नेपाली चलचित्र क्षेत्र कै बिजय महसुस भएको छ। ती बिजय सम्पुर्ण सिनेमालाइ हार्दिक बधाइ!”

अर्की बरिष्ट अभिनेत्री बसुन्धरा भुसाल पनि खुसी छिन । “आफ्नो नेपाली सिनेमा, आफ्नै पेशा र आफ्नै कर्मथलो यसरी अगाडि बढ्नु राम्रो हो नि । आफुले अभिनय गरेको सिनेमा मात्रै ५१ औ दिन मनाउनु १०० औ दिन मनाउनु मात्रै खुशी होईन, सम्पुर्ण सिने उध्योग कै राम्रो को लागि हामीहरु कै राम्रो को लागि हो एकदमै खुशी लागेको छ ।

निर्देशक प्रदीप भट्टराईका चार वटा सिनेमाले एकाउन्न दिन मनाउन सफल भएका छन । यसै बर्ष मात्रै उनको “महापुरुष” सिनेमाले एकाउन्न्न दिन सफलता पुर्वक पार गर्यो । यस बारे उनको बिचार यस्तो छ । “सिनेमा एकाउन्न दिन मनाउनु राम्रो कुरा हो । पहिला नेगेटिभमा सिनेमा चल्थ्यो । पाच सात वटा प्रीन्ट बनाउने पुर्वको सात वटा हलमा चलाउने । त्यस पछि चलिसकेपछि तीन महिना पछि पस्चिमको हलमा र काठमाडौंमा गर्दै चल्ने गर्थ्यो । थोरै हलमा चल्थ्यो । सानो मुख भएको घान हालेपछी पिसिन धेरै समय लाग्छ । त्यसैले एकाउन्न दिन मनाउन सजिलो थियो । थोरै हलमा चल्ने दर्शक आइरहने आईरहने । तर अहिले एकै पटक सय बढी हलमा लाग्छ । दर्शक एकै पटक एक हप्तामै आएर सकिन्छन । यस्तोमा एकाउन्न दिन मनाउनु सजिलो कुरा होइन । हुन त एकाउन्न दिन ठूलो कुरा होइन पैसा कमाउन पर्यो भन्ने पनि छ । तर एकाउन्न दिन सम्म चल्नु गार्हो चिज हो । मेरो चार वटै सिनेमाले एकाउन्न दिन मनाएको भएर खुसी लाग्छ । मेरो सिनेमा फेरि बिस्तारै चल्छन । मान्छे पछि सम्म आइराख्नु हुन्छ । धेरै खुसी लाग्छ ।

लामो समयको ग्याप पछि निर्देशक ज्ञानेन्द्र देउजाले सिनेमा “झिङेदाउ” निर्देशन गरे । र उक्त सिनेमाले चालीस दिन सम्म व्यापार गर्न सफल भयो । यही एकाउन्न दिने प्रश्नमा उनी भन्छन,”आज भन्दा अठार बीस बर्ष अगाडि नेपाली सिनेमाले एक प्रकारको गोल्डेन इराको रुप लिइसकेको थियो । ब्यवसायमा राम्रो गर्दै थियो । शिव रेग्मी जस्ता मेकर थिए । सुख दुख, हामी तीन भाइ जस्ता सिनेमाले एकाउन्न दिन मनाइरहेको बेलामा पछिल्लो समय नेपाली सिनेजगतको व्यापार खस्किएको थियो । तर कोरोना पश्चात् अहिले सिनेजगतले राम्रो पिकअप लिएको छ । अहिलेको डिजिटल युगमा मनोरन्जनका विभिन्न माध्यम हुदा सिनेमाले राम्रो स्थान पाएको अवस्था थिएन । तर नेपाली सिने उद्योगमा र नेपाली दर्शक हरुले नेपाली माटो नेपाली कथा र नेपाली प्रस्तुतिलाई मन पराएको देखिन्छ ।
कबड्डी द फाइनल म्याच, महापुरुष छक्कापन्जा चार ले एकाउन्न दिन मनाए । मेरै झिंगेदाउ सिनेमा पनि चालीस दिन सम्म चल्यो । यो नेपाली सिने उद्योगको लागि गोल्डेन एरा मान्न सकिन्छ र जस्तो सिनेमा ले यो समयमा एकाउन्न दिन मनाएका छन तिनलाई नियाल्दा आफ्नो सुगन्ध भएका सिनेमाले एकाउन्न दिन मनाएका छन । र नेपाली माटो नेपाली परिवेश नेपाली भाषा र नेपाली कथा कै सिने दर्शकले मन पराउने रहेछन भन्ने प्रमाणित भएको छ । म खुसी छु ।”
अहिले यतिका सिनेमा हल र स्कृन हुँदै गर्दा सिनेमाले एकाउन्न दिन मनाउनु फलामको चिउरा चपाउनु बराबर हो । यस्तोमा नयाँ बर्षबाट हलमा लागेको जारीले पनि यो यात्रा तय गर्ने देखिएको छ । मौलिक सिनेमा र आफू जस्तै लाग्ने कलाकारका सिनेमालाई दर्शकले मन पराएका छन ।