काठमाडौं । नृत्य संघले कोरस डान्सरको पारिश्रमिक २०८० सालबाट लागू हुने गरि बढाएको छ । पहिला गीतको पन्ध्र सय पारिश्रमिक दिने नियम थियो । तर अहिले सिनेमा र म्युजिक भिडोयोको समेत फरक रेट तोकिएको छ ।
एउटा म्युजिक भिडियोको दुई हजार र सिनेमाको लागि दिनका आधारमा पारिश्रमिक तोकिएको छ । पहिला सिनेमामा एक दिनको दुई हजार, दुई दिन काम गर्दा चार हजार पारिश्रमिक थियो भने तीन दिनमा छ हजार थियो । तर अब भने एक दिनमा गीत सकिएमा ३ हजार दिनु पर्ने भएको छ । दुई दिन र तीन दिन सम्म लाग्यो भने पाच हजार दिनु पर्ने नियम बनाईएको छ ।
हरेक बर्ष ७०/८० वटाको हाराहारीमा सिनेमा बन्ने गर्छन । जस मध्ये अधिकांश सिनेमाले पोस्टरको पैसा समेत उठाउन नसक्ने स्थिती छ । एकाध बाहेक सिनेमा चल्दैनन् । यता पारिश्रमिक भने बढेको बढ्यै छ । त्यसो त महंगी पनि अत्याधिक वृद्धि नै भएको हो ।
यस बिषयमा कुराकानी गर्दा नृत्य संघका अध्यक्ष जनक बहादुर कार्कीले भने मर्का पार्ने गरेर पारिश्रमिक नबढाएको बताएका छन् । दुई बर्ष अघि नै बढाउने प्रकृयाको थालनी भए पनि कोरोना महामारीको कारण सिने जगतको अवस्था नाजुक थियो । र यही अवस्था र निर्माताको पिडालाई बुझ्दै अब २०८० सालदेखि लागू हुने गरेर पारिश्रमिक बढाएको उनले बताएका छन् ।
उनले यतिको पारिश्रमिक बढ्नुलाई धेरै बढाएको भन्न नमिल्ने तर्क समेत प्रस्तुत गरे । अन्य संघ सस्थासंग सल्लाह नै नगरेको विषयमा पनि उनले निर्माता, निर्देशक लगायतको संघ सङ छलफल गर्दै पारिश्रमिक वृद्धि गरेको बताएका छन् ।
यता निर्माता तथा कलाकार रविन्द्र बानिया भने सिनेमा नचलेको समयमा बढाएको पारिश्रमिकलाई लिएर असन्तुष्ट देखिएका छन् । ‘दैनिक गुजारा मै समस्या हुने पारिश्रमिक भए एउटा कुरा । तर सरकारले तोकेको पारिश्रमिक भन्दा तल नगएर दिदै गरेकोमा बिना कुनै सल्लाह पारिश्रमिक बढाउनु जायज देखिएको छैन’, उनी भन्छन ।
गत चैत्र १२ गते आइतबार निर्माता संघले एउटा बैठक राख्दै आज १९ गते आइतबार छलफलको योजना बनाएको थियो । सिनेमा सम्बन्धी संस्थाहरुमा नयाँ कार्यसमिती बनेको र त्यसैको स्वागत गर्दै अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो । साथै नृत्य सङ लगायत अन्य संघका समस्याका विषयमा छलफल गर्न अन्तर संघ समन्वय समिती समेत बनाइएको छ । त्यसै अन्तर्गत रहेर अन्य संस्थासँग समस्या अप्ठ्यारा र समाधानको विषयमा निर्माता संघले कुराकानीको योजना बनाएको छ ।
सरकारले २०७८ साउन १ गतेदेखि लागू हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक १५,००० पुर्याएको छ । त्यसअघि श्रमिकको न्यूनतम पारिश्रमिक १३ हजार ४५० रुपैयाँ थियो। अब श्रमिकले मासिक आधारभूत पारिश्रमिक ९,३८५ र महँगी भत्ता ५,६१५ पाउने छन्।
दैनिक ज्यालादारी गर्नेको पारिश्रमिक ५७७ र घण्टाको हिसाबमा काम गर्दा ७७ रुपैयाँ पाउने व्यवस्था गरिएको छ। ठाउँ अनुरूप स्थानीय तह र सस्थाले न्यूनतम पारिश्रमिक तोक्न पाउँछ।
तर अब उक्त अधिकारको प्रयोग गर्दा समेत श्रम ऐनअन्तर्गत तोकिएभन्दा कम हुन नहुने नियम छ।
यसरी हेर्दा कोरस डान्सरको पारिश्रमिक कम भएको भने देखिदैन ।