काठमाडौं :
युवापुस्तामा लोकप्रिय अभिनेता हुन् प्रदीप खड्का । उनले हालै काठमाडौंको सिभिल मलमा आयोजिक फिल्म फेस्टिभलमा खड्काले पहिलो पटक उत्कृष्ट अभिनेताको अवार्ड जितेका छन् । चैत २ देखि ६ गतेसम्म आयोजना भएको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को छैटौं संस्करणमा उनी सिनेमा ‘प्रकाश’बाट उत्कृष्ट अभिनेता घोषित भएका हुन् ।

प्रदीपले पहिलो पटक उत्कृष्ट अभिनेताको अवार्ड जित्न पाउँदा खुशी लागेको बताए । उनले भने, ‘अवार्ड पाउँदा आफैंलाई अचम्म लागिरहेको छ । मैले सिनेमा गर्न थालेको ७/८ वर्ष भयो । अहिलेसम्म उत्कृष्ट अभिनेताको अवार्ड पाएको थिइनँ । ‘स्टार’ भनेर केही अवार्ड पाएको थिएँ । हुन त मैले ‘प्रकाश’ गर्नुको कारण कलाकारको रुपमा प्रशंसा होस् भन्ने नै थियो । अवार्ड पाउँदा हर्षित छु ।’

सोही क्रममा उनीसँगै यही सिनेमा बाट दीया मास्के उत्कृष्ट अभिनेत्री घोषित भएकी थिइन् । सिनेमा प्रकाशमा दीया र प्रदीपले आमा–छोराको भूमिका निभाएका थिए । सिनेमालाई दर्शकले सोचे अनुसारको साथ दिएका थिएनन्। सिनेमाको लगानी उठाउन समेत हम्मे हम्मे परेको सिनेमाको कथावस्तुलाई र प्रदीपको लुक्सलाई भने धेरैले रुचाएका थिए। यहि सिनेमाबाट उत्कृष्ट अभिनेताको अवार्ड पाएका प्रदीपले सिनेमा ‘प्रकाशमा अवार्ड नै पाउने हिसावले काम नगरेको तर सिनेमा बनाउन भने मेहनत गरेको बताए । सिनेमाको पात्र अनुसार शतप्रतिशत दिएर काम गरेको र त्यसैको प्रतिफलका रुपमा अवार्ड पाएको तर्क गरे।
अवार्ड प्राप्त गरिसकेपछि सञ्चारकर्मीसँग कुराकानीका क्रममा तपाईका कथावस्तु लगायतका विषयमा केहि छनोटहरु बनेका छन् भन्ने प्रश्नमा प्रदीपले नेपाली सिने क्षेत्रलाई कस्तो खालको सिनेमा आवश्यकता छ र अडियन्सले कस्तो सिनेमा खोजिरहेको छ त्यसलाई मध्यनजर गर्दै सिनेमामा काम गर्ने सोच बनाएको बताए ।

उनले भने,‘दर्शकले नै सिनेमालाई बुझ्नुभएन भने हामीले मात्र एकतर्फी रुपमा यस्तो हुनुपर्छ सिनेमा भनेर मात्र नहुने । दुबै तर्फलाई व्यालेन्स मिलाएर दुवैतर्फलाई फाइदा हुने सिनेमा मेरो च्वाइसमा हुने गर्दछ।’
