Sur Cinema

Edit Content

ताजा अपडेट

सिनेमा ओरालो लागेपछि गनगन गर्न थाले अनमोल

काठमाडौं : दुई साताअघि अनमोल केसी अभिनित सिनेमा ‘छड्के २.०’ प्रदर्शनमा आयो। सिनेमा हलमा लागेको एक साता नबित्दै हलबाट उत्रियो। सिनेमा हेर्नका लागि दर्शक हलमा नआएपछि हलवालाले यहि सिनेमासँग भिडेको सिनेमा ‘छक्का पञ्जा ४’को शो बढाए।

यसपछि अनमोलको स्टारडममा नै प्रश्न उठ्यो। फ्लप भएको ‘छड्के २.०’ले सिनेमा चल्न स्टारडम भएर मात्र नहुने रहेछ भन्ने कुरा नेपाली चलचित्रकर्मीलाई पाठ समेत सिकायो। आफ्नो स्टारडमले मात्रै सिनेमा चल्छ भन्ने मानसिकता बोकेका अनमोललाई सिनेमामा लिने पारिश्रमिकले समेत गिज्याउन पुग्यो। यसले गर्दा उनको करियरमा नै धक्का पुग्ने देखिएपछि उनले दर्शक र सिनेकर्मीको सहानुभुती बटुल्न लामो स्टाटस नै लेख्नुपर्यो।

उनको स्टाटसलाई लिएर थुप्रै सिनेकर्मीले सहानुभुती अनमोलमाथी दर्शाए। अनमोलले आफु अभिनित सिनेमा फ्लप भएको स्वीकार गर्दै अबको सिनेमाले दर्शकलाई निराश नबनाउने आशा प्रकट गरे।

अनमोलको स्टाटसलाई लिएर सिनेकर्मीको सहानुभुतीले निर्मातालाई न राहत पुग्यो र केही भयो। अर्को कुरा के हो भने अनमोल केसीले सिनेमामा काम गर्दा स्कृप्ट र निर्देशक हेर्ने गरेको बताउँछन् ।तर, उनले यो सिनेमामा न स्कृप्ट हेरेको पाइयो न निर्देशक । उनले यस सिनेमामा केवल पैसा हेरेको आरोप समेत लाग्यो।

‘छड्के २.०’ नचलेपछि निराश बनेका अनमोलले बिहिबार एक तस्विर सहित सामाजिक सञ्जाल इन्ष्टामा कहिलेकाहीँ आजको दिन पीडादायी हुने र भोलीका दिन राम्रो बन्ने उल्लेख गरेका छन्। उनको आशय सिनेमा अहिले पो फ्लप भयो त अर्को पटक हिट दिन्छु भन्ने हो।

यतिबेला अनमोल सिनेमा ‘जेरी अन टप’का लागि जुटेका छन्। पोखरामा रहेका अनमोल यो सिनेमाबाट स्टारडम जोगाउने प्रयन्तमा लागेको बुझिन्छ।