Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

नेपाल चलचित्र कलाकार संघको महासचिवका उम्मेदवार केसीका यस्ता छन् प्रतिबद्धता

काठमाडौं : यही चैत ४ गते हुन लागेको नेपाल चलचित्र कलाकार संघको निर्वाचनमा कलाकारहरू यतिबेला भोट माग्न व्यस्त छन् । यसैक्रममा महासचिवका उम्मेदवार उत्तम केसीले आफ्नो प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ ।

२०५३ सालमा बसुन्धरा भुसाल नेतृत्वमा कार्यसमिति सदस्य, २०६५ सालमा रमेश बुढाथोकी नेतृत्वमा सह-कोषाध्यक्ष, २०६९ नवल खड्का नेतृत्वमा सचिव तथा नेपाल सरकारको प्रशासनिक क्षेत्रमा ३३ वर्ष कार्य गर्नुभएका केसीले सात बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गर्दै आफूलाई महासचिव पदमा विजयी गराउन आग्रह गर्नुभएको छ ।

केसीले संघमा हाल देखा परेका बेथिति, विकृति, विसङ्गतिलाई पन्छाउँदै स्वच्छ, सफा, हराभरा बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले अग्रज कलाकारहरूदेखि नवकलाकारहरू सबैलाई संघभित्र आवद्धता हुने वातावरण तयारपारी संघको गरिमा बढाउन काम गर्ने पनि बताउनुभएको छ ।

संघको हालको अस्तव्यस्त अवस्थालाई सुधार गरी पूर्ववत् अवस्थामा ल्याई संघको गरिमा कायम राख्ने केसीको प्रतिबद्धता व्यक्त गर्दै यसअघिको नेतृत्वले गरी आएका राम्रा कामलाई निरन्तरता दिने बताउनुभएको छ । यस्तै केसीले संघको आर्थिक अवस्थामा सुधारगरी हिसाबकिताब पारदर्शीरूपमा राखेर सबैको चित्त बुझाएर काम गर्ने प्रतिबद्धता पत्रमा उल्लेख गर्नुभएको छ ।

कलाकारहरूको सीप, दक्षता र विकासका लागि राष्ट्र तथा अन्तर्राष्ट्रिय गोष्ठी, सेमिनार तथा तालिमको व्यवस्था गर्न पहल गर्ने केसीले बताउनुभएको छ ।

यस्तै केसीले संघलाई सम्मानित बनाउनका लागि संघ स्थापनाकालदेखिको विशिष्ट, अग्रज कलाकारहरू, पूर्वअध्यक्षहरूको राय सल्लाह लिएर संघ र कलाकारहरुको हितमा काम गर्ने उल्लेख गर्नुभएको छ ।

त्यस्तै संघको काम कारबाहीलाई डिजिटल प्रविधिमा रुपान्तरण गरी सम्पूर्ण सदस्यहरूको विवरण संघको व्यवस्थित वेबसाइट निर्माण गर्ने पनि केसीले प्रतिबद्धता उल्लेख गर्नुभएको छ । यस्तै महासचिवका अन्य उम्मेद्वारमा सञ्जय खतिवडा, धर्मानन्द आचार्य, सविन श्रेष्ठ, पनाह अधिकारीले उम्मेदवारी दिनुभएको छ । सचिवमा रामेश्वर बुर्लाकोटी र जीवन थापाको उम्मेदवारी परेको छ ।

संघको अध्यक्ष पदका लागि मोहन निरौला र रेजिना उप्रेती (पोखरेल)ले उम्मेदवारी दिनुभएको छ ।
यस्तै उपाध्याक्षमा धनबहादुर बम्जन (डिबी), कविता गेलाल, शिवहरि नेपाल, सरिता गिरी, पवनप्रसाद खतिवडा, तेजकुमारी खतिवडा र विष्णुप्रसाद रिजालले उपाध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ ।

यस्तै सचिवमा रामेश्वर बुर्लाकोटी र जीवन थापाको उम्मेदवारी परेको छ भने कोषाध्यक्षमा विनोदकुमार भट्टराई र सुनिल कटुवाल र सहकोषाध्यक्षमा रोहित रुम्बा र पवित्रा आचार्यले उम्मेदवारी दिनुभएको छ ।

सदस्य पदका लागि उद्धवप्रसाद भट्टराई, गोपाल ढकाल, सञ्जोग राणा, शीतल केसी, पवन केसी, रोशन श्रेष्ठ, पुण्यप्रसाद पाण्डे, लक्ष्मण चौलागाईं, रञ्जना खड्का, सुनिलकुमार पुरी, नम्रता खरेल, गोपीलाल तामाङ, दिलकुमार दोङ, पुकार भट्टराई, दिनेश अवाल, खिन्नबहादुर भण्डारी, रामशरण जंगम, रामकुमार कार्की, राजेश गोसाईं, सरिता राजोपाध्याय, नीतु कोइराला गौतम, ईश्वरबल्लभ उप्रेती, भीमसेन बजगाईं, समीर लामा तामाङ, निर्मल स्याङतान, बबिता ढकालले उम्मेदवारी दिनुभएको छ ।