काठमाडौं : यतिबेला सिनेमा ‘डिसेम्बर फल्स’को टिम प्रचारप्रसारमा निकै व्यस्त छ। किनकी यो सिनेमा यही पौष १५ गतेबाट प्रदर्शनमा आउँदैछ।
प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण टिमले विभिन्न मिडियामा अन्तर्वार्ता दिएर, विभिन्न टेलिभिजन कार्यक्रममा गएर, पशुपतिमा दीप बालेर सिनेमाको प्रचार गरिरहेको छ। तर सबै ठाउँमा प्रचारको लागि यस् सिनेमाकी नायिका उपासना सिङ ठकुरीको उपस्तिथि रहेको पाइँदैन ।
सिनेमाका नायक आर्यन सिग्देलले भने सबैतिर प्रचार गर्न भ्याएका छन्। प्रचारको लागि आर्यनसँगै उपासना सबैतिर नगएपछि यतिबेला उपासनाको बारेमा एउटा खबर बाहिरिएको छ।
सिनेमा प्रचारको लागि छुट्टै पारिश्रमिक मागेको हल्ला बाहिरिएसँगै ‘मेरो फिल्म’ले एउटा समाचार समेत लेखेको छ।
‘उपासनाले फिल्म प्रचारको लागि पारिश्रमिक माग्दा निर्माता समस्यामा’ हेडलाइनमा ‘मेरो फिल्म’ले लेखेको समाचार बारे सत्यतथ्य पत्ता लगाउन ‘सुरसिनेमा’ले निर्माता रामप्रसाद रिजालसँग टेलीफोन मार्फत सम्पर्क गरेको थियो।
कुराकानीमा निर्माता रिजालले आफू र उपासनाबीच त्यस्तो केही नभएको बताएका छन्। बाहिर आएका समाचार जस्तो उपासनाले प्रचारको लागि पारिश्रमिक नमागेको निर्माताले बताए।
त्यस्तै, यस् बारे बुझ्न उपासनालाई सम्पर्क गर्न खोज्दा उनको फोन लाग्न सकेन। जे होस् यस् सिनेमालाई भने उपासनाले निकै गम्भीर रुपमा लिएको पाइन्छ। आफुले काम गरेको सिनेमाको प्रचार गर्न छुट्टै पारिश्रमिक माग्नु भनेको पक्कै राम्रो पक्ष चाहि होइन।