काठमाडौं : त्यसो त, नेपाली सिने क्षेत्रमा एकै रिलिज मितिमा २ वटा सिनेमा जुध्नु खासै नौलो कुरा होइन। तर एकै दिनमा ६ वटा सिनेमाले रिलिज मिति तय गर्नु चाहिँ अचम्मको कुरा नहोला र ?
पहिल्यै नै ५ वटा सिनेमाले आफ्नो रिलिज मिति तय गरेको दिन हो ‘फागुन १९’। यो मिति चानचुने मिति होइन रहेछ। किनकी विवादै विवादमा छ यो मिति।
सुरुमा २ वटा सिनेमाले आफ्नो रिलिज मिति फागुन १९ लाई तय गरेका थिए। पछि फेरि ३ सिनेमा यही मितिमा ठोक्किए। सामाजिक संजालमा यत्रतत्र पछि थपिने सिनेमाको विरोध गरे सुरुमा रिलिज मिति घोषणा गर्ने निर्माताहरुले।
अन्ततः विवादित मिति थाहा हुँदा हुँदै अनमोल केसी अभिनित ‘छड्के २’ पनि उहीँ विवादित मिति फागुन १९ मा पुगेको छ । फागुन १९ मा ‘परस्त्री’, ‘वर एन्ड बधु’, ‘बुलाँकी’, ‘गुलावी’, ‘छक्कापन्जा ४’ र ‘छड्के २’ गरि ६ वटा सिनेमाले एकै दिनलाई रिलिज मिति तय गरेका छन् ।
अब फागुन १९ मा कुन-कुन सिनेमा रिलिज हुन्छन् र कुनकुन सिनेमाले रिलिज मिति सार्लान त ? त्यो त पक्कै पनि कतुहलताको विषय बनेको छ।
जे होस् यसरी एकैदिन २ वटा सिनेमाले मात्रै रिलिज मिति तय गर्नुपनि सिनेमा उद्योगको लागि राम्रो होइन। यसरी ६ वटा सिनेमा एकैदिन जुध्ने दिन आयो भने त झनै राम्रो हुँदै होइन।