Sur Cinema

Edit Content

ताजा अपडेट

‘सरकार र विकाश बोर्डले ‘नालापानी’लाई कुनै चासो दिएन’ : रिमेश अधिकारी

२६ असोज २०७९
काठमाडौं : आगामी कार्तिक ४ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमा हो ‘नालापानी’। करिब ९ वर्ष लगाएर निर्माण गरिएको सिनेमाको केही हप्ता अघि ट्रेलर समेत रिलिज गरियो।

ट्रेलर हेर्दा नै लोभलाग्दो देखिने सिनेमालाई लिएर दर्शकहरु निकै उत्साहित छन् । रिलिज मिति नजिकिँदै गर्दा यतिबेला सिनेमाको टिम प्रचारप्रसारमा व्यस्त छ।

महंगो बजेट र लामो समय खर्चेर बनाएको सिनेमा ‘नालापानी’लाई लिएर नेपाल सरकार र चलचित्र विकाश बोर्डले कुनैपनि चासो नदेखाएको भन्दै यतिबेला यस् सिनेमाका निर्देशक रिमेश अधिकारीले दुखेसो पोखेका छन् ।

उनले एक मिडियामा अन्तर्वार्ता दिँदै उक्त दुखेसो पोखेका हुन् । उनले उक्त अन्तर्वार्तामा भनेका छन्, ‘करिब ९ वर्ष लगाएर निर्माण गरिएको सिनेमा , जसले नेपालीहरुको विरताको इतिहास ‘नालापानी’को इतिहासलाई उजागर गरेको छ। सिनेमाले ‘विशेष सिनेमा’को उपाधी समेत पाएको छ। तर हाम्रो मिहेनत र दुखलाई सरकार र चलचित्र विकाश बोर्डले बुझिदिनुपर्थ्यो, सहयोग गर्नुपर्थ्यो। तर यसो भएन।’

त्यस्तै, व्यवसायिक भन्दा पनि एउटा इतिहास रहने सिनेमा बनाउन खोजेको रिमेशको भनाइ छ। रिमेशको भनाइ अनुसार यस् सिनेमा निर्माणमा १४ करोड खर्च भइसकेको छ।

यस् सिनेमामा नालापानीको युद्धमा नेपालीहरूले देखाएको विरताको कथालाई उठान गरिएको छ । अंग्रेज र नेपालीविचको लडाई र नेपालीको विरताको कथालाई दर्शकले सिनेमामा देख्न पाउनेछन् ।

सिनेमामा अर्जुनजंग शाही, सन्तोष पन्त, देशभक्त खनाल, पुजना प्रधान, मनोज शाक्य, गीता अधिकारी लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

सिनेमाका निर्माता मनोज शाक्य हुन् सिनेमामा विपिन मल्लको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, रोशन श्रेष्ठको एक्सन रहेको छ । रिमेश अधिकारी र कृष्ण आचार्यले यो सिनेमाको स्क्रीप्ट तयार पारेका हुन् ।