Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

राम्रो कलाकार हुन धेरै पढ्नु पर्छ रे : काईरा कार्की

काठमाडौं : २०६७ साल तिर बजारले एउटा सिनेमा पाएको थियो, जस्को नाम थियो ‘श्रीमान’ ( निर्देशक नवल नेपाल) । उक्त सिनेमामा अभिनय गर्ने एक बाल कलाकार , सङ्गम बिष्ट मुख्य पात्रका रुपमा उभिएकी थिइन । उ समय सो सिनेमा उनकै अभिनयको जगमा सफल भएको मानिएको थियो । बिष्टले पछि गएर ‘लव यु बाबा’ (निर्देशक सौगात बिष्ट : वर्ष ८) नामक सिनेमामा काम गरिन । फलत: उनले देश कै सर्वोच्च कहलिएको राष्ट्रिय अवार्ड समेत हात पार्न सफल भइन् । सम्भवत: नेपाली इतिहासमा बाल कलाकारको अभिनयबाट सिनेमाको उचाई बढेको यिनै दुइ सिनेमा हुनपर्छ ।

अलि पछि गएर ‘जात्रा’मा ( निर्देशक प्रदिप भट्टराई ) अर्का बाल कलाकारको उदय भयो अर्बिन खड्का ( https://surcinema.com/2024/02/5520/. ) उनले लगातार “जात्रा”को दुई शृङ्खलामा आफ्नो क्षमता देखाइसकेका छन् भने त्यसैको तेश्रो शृङ्खला ‘महाजात्रा’मा पनि उनको उपस्थिती रहेको छ । उनी सङ्गै उक्त सिनेमामा अर्का बालकलाकारको पनि अभिनय रहेको छ , उनको नाम हो काईरा कार्की । प्रदर्शनको सघारमा रहेको महाजात्रा’मा अभिनय गर्ने तिनै बाल प्रतिभा सङ्ग फागुन ४ गते मध्यान्ह प्रज्ञा प्रतिष्ठानको प्राङ्गणमा (सुरसिनेमाकर्मी सुरेन्द्र थापाले उनैसँग भेटेर गरेको कुराकानीको सम्पादित अंश:)  

काईरा, प्रज्ञा कुन्ज स्कुल नया बानेश्वरमा कक्षा एकमा पढ्छिन् । आमा (कल्पना थापा) रङ्गमन्चमा सक्रिय हुनुहुन्थ्यो तर उनी जन्मेपछि त्यता समय दिन पाउनुभएन रे उनी आफै बताउछिन् “मलाइ हुर्काउन, हेरचाह गर्न थाल्नु भो, अनि आमाको सट्टा मैले अभिनय गर्न थाले ।” उनका बाबा (रेवत कार्की) भने पेशाले शिक्षक हुन् ।

मैले सोधे “तपाइले अभिनय सानै देखि शुरु गर्नु भो है ? जात्रा’मा एक सिन देखा परेको छु । त्यसपछि ‘फुलवारी’मा बिपिन कार्की ड्याडीको नातिनी भएकि छु । फेरि ‘महाजात्रा’मा उहाँकै छोरी भएर काम गरेकी छु । सात वर्ष कि कायरालाई अरु के के गर्नुहुन्छ भनेर सोध्दा जवाफमा :- ‘मैले स्कुलमा समेत गरेर चार वटा नाटक गरेकी छु । अभिनय क्लास १० महिना सिके अनि प्रमाण पत्र पनि पाए ।’ मलाइ टँक चौलागाई सरले सिकाउनु भएको हो । म नृत्य पनि सिकिरहेको छु त्यो चाहिँ बिदुर सिवाकोटी सरले सिकाउनु हुन्छ । दुई हप्ता देखि कत्थक पनि सिकिरहेको छु नम्रता म्याम ( नम्रता के.सी ) सङ्ग । उनको जवाफी शैलीमा स्पष्टता झल्कन्थ्यो । तपाइले त धेरै कुरा सिक्नु हुदो रहेछ है ? “आफुलाइ मन लागेर सिकेको नि ” । अनि पहिलो चोटि अभिनय के मा गर्नु भएको याद छ भन्दा ” म डेढ वर्षको हुदा मलाइ साथ मै लिएर आमा ‘जात्रा’मा अभिनय गर्न जानू भएको रहेछ अनि त्यहा म पनि देखिएको छु । ” त्यसपछि ? ” अनि ‘फुलवारी’मा चाहिँ मैले अडिसन दिएरै पास भएकी हु। ” अनि अहिले ‘महाजात्रा’मा काम चाहिँ ‘महाजात्रा’को डाइरेक्टर प्रदिप सर हुनुहुन्छ नि ( प्रदिप भट्टराई ) उहाँको छोरा र म एउटै स्कुलमा अभिनय सिक्थ्यौ । प्रदिप सरले मलाइ भेट्दा अघिल्तिरको मेरो दाँत पनि झरेको थियो । उहालाइ राम्रो लाग्यो रे । अनि मलाइ काम गर्छौ भनेर सोध्नु भयो अनि मैले खुसी भएर हुन्छ भने । मैले काम गरेको सबै भने, उहाँले स्यावास भन्दै ‘महाजात्रा’मा खेलाउनु भयो।”

कस्तो लाग्यो त ‘महाजात्रा’मा काम गर्दा ?
“रमाइलो ! जे भन्यो त्यही दिनुहुन्थ्यो ! खाना पनि मीठो थियो, खुब केयर गर्नुहुन्थ्यो । मलाइ त मेरो बाबा आमा पनि चाहिन्नथ्यो । सबै पेरेन्ट्स (अभिभावक) जस्तै हुनुहुन्थ्यो। वर्षा मामु (वर्षा राउत )ले खुब ख्याल राख्नुहुन्थ्यो । उहाँ घरी घरी पनि रिसाउनु हुन्थ्यो । मैले राम्रो काम गरे भने फेरि खुसी हुनुहुन्थ्यो। बिपिन बाबा (बिपिन कार्की) पनि खुब केयर गर्नुहुन्थ्यो । उहाँ सङ्ग नातिनी भएर “फुलवारी” मा काम गरिसकेको थिए । यस्मा चाहिँ छोरी भएर काम गरेको छु । छोरीलाई जस्तै माया गर्नुहुन्थ्यो मलाइ । मेरो घरमा पनि आमा , बाबा, दादा र म छौ अनि सिनेमामा पनि मामु, बाबा, दादा र म छौ । कस्तो मिलेको ।

” उसो भए घरको परिवार र सिनेमाको परिवारमा कस्ले बढी माया गर्नुहुन्छ नि ?
“घरको दादा चाहिँ म सङ्ग अलि अलि रिसाउनु हुन्छ । तर सिनेमाको अर्बिन दादा चाहिँ रिसाउनु हुन्न । खुब माया गर्नुहुन्छ । बाबाहरु पनि दुबैले उस्तै माया गर्नुहुन्छ । घरको आमा रिसाए जस्तै सिनेमाको ममि पनि कहिले काहीँ रिसाउने तर माया चाहिँ दुबैले गर्नुहुन्छ । नाटक र सिनेमामा कुन सजिलो सोध्दै गर्दा मुसुक्क हासेर सिनेमा सजिलो भन्छिन कायरा । त्यहा बिग्रीयो भने फेरि लिन पाइन्छ तर नाटकमा पाइदैन् । सिनेमा कत्ती सजिलो । तर अभिनय चाहिँ एउटै खाल्को ।”

अभिनय भनेको के रहेछ त ? फुत्त जवाफ दिइन् ‘रमाइलो’ । अभिनय गर्दा आमालाइ पनि कस्तो रमाइलो लाग्थ्यो रे । कहिले ? “म जन्मेकै थिईन ” अनि मलाइ पनि कस्तो रमाइलो लाग्छ, खुसी लाग्छ । मैले अभिनय गर्दा र नाच्दा मलाइ भन्दा पनि आमालाई खुसी लाग्छ रे उहाले भन्नू भएको ।”तिमी लाई बाबा र आमामा कस्ले धेरै माया गर्नुहुन्छ ? “मेरो दाँत खुस्केको छ नि अनि आमाले चक्लेट खान दिनुहुन्न । तर, बाबाले लुकाइ लुकाइ दिनुहुन्छ । आमाले चकलेट दिनुभो भने कहिलेकाही दिनुहुन्छ । बाबाले चाहिँ यत्तिधेरै ल्याउनुहुन्छ अनि दुबै जना आमाबाट लुकिलुकी खान्छौ।”

कसो कसो उनको नजर नजिकै रहेकी उनकी आमामा पर्छ दुबै हत्केलाले आफ्नो बोलिरहेको मुख छोप्छिन अलि पर रहेकी आमा रिसाउदै मुस्कुराउछिन् ।
ठूलो भए पछी के बन्न मन छ ? ” म कलाकार पनि हुने अनि सि. ए. पनि हुने । आमालाइ म सि. ए. भएको हेर्न मन छ अनि सि.ए. हुने ।” के हो सि.ए. भनेको ?” चार्टर अकाउन्ट नि त्यत्ती त थाहा भैहाल्छ नि” उनले आफुभित्रको आत्मविश्वास बलियो भएको पेस गरिन । अनि ठूलो कलाकार नहुने भन्दै गर्दा ‘मलाइ थाहा छैन् आमालाइ सोध्न पर्छ ।’ आफुभित्र रहेका असिमित रहरहरुलाइ आमाको थाप्लोमा राख्दिदै भनिन ‘आमाले भनेको , कलाकार आफ्नो खुसीको लागि बन्ने हो । तर, यसैलाइ जागिर चाहिँ बनाउन मिल्दैन अर्कै काम गर्नुपर्छ रे । ए ! अँ सि. ए. । राम्रो मान्छे बनेर राम्रो जब गर्यौ भने ठूलो भए पछि राम्रो हुन्छ भनेर उहाले भन्नू भएको छ ।’

तपाइको त बोर्ड एक्जाम पनि आउदैछ हैन् ? सिनेमा रिलिज पनि हुदैछ । अब के गर्नुहुन्छ ?
आमा ले नै सिकाएको शैलीमा उनि अगाडि भन्छिन ” अहिले चाहिँ सिनेमामा भ्याउदा काम गर्ने हो । प्रदिप सर ( महाजात्रा निर्देशक) हरुले पनि पढाइलाइ डिस्ट्रब नगर्नु भन्नू भाको छ । मलाइ एउटा टिसर्ट पनि दिने भन्नू भाको छ। ‘महाजात्रा’ लेखेको । त्यही लाएर स्कुल जाने, मैले सरहरु सङ्ग नि कुरा गरिसकेको छु । हुन्छ, भन्नू भाको छ । अनि थाहा छ मेरो आमाले मेरो पढाइ त बिग्रन दिनुहुन्न । आमाले भन्नुभको, नपढेको मान्छेले सिनेमा खेल्न मिल्दैन रे।” उनको जवाफमा एउटि ज्ञानी छोरी भेटिन्थ्यो । ‘महाजात्रा’ पनि फागुन ९ गते बाट मेरो एक्जाम (परीक्षा) पनि फागुन ९ गते बाट मलाइ जान त मन लाग्छ तर आमाले दिनुहुन्न । उता सरहरुले पनि पढाइ छोडेर न आउनु भन्नू भएको छ । सिनेमाको प्रीमियरमा चाहिँ आमा बाबालाइ अनि स्कुलको प्रीन्सिपल (सुनिता पौड्याल) लाई लान्छु । मेरो क्लास टिचर रोशनी म्याम, मेरो डान्स टिचर अनि हजुरलाई पनि लान्छु । तर खै कति लाई लान मिल्छ थाहा छैन् ! ओठ बिगार्दै उन्ले आफ्ना सबै योजना र चाहना बताइन ।”

अब अन्तिममा केही भन्न मन लागेको छ ?
उनका दाहिने हातका औलाहरुले टाउकामा कन्याउदै एकछिन सोचिन अनि भनिन “मलाइ पनि ‘महाजात्रा’को प्रमोसनमा जान त मन छ तर मेरो एक्जाम भएकोले जान पाइन। बालेन सरले सिनेमाको पोस्टर टास्न पाइदैन भनेको छ रे । अनि जहाँ पनि हामी आफै गएर प्रमोसन गर्नु पर्छ । म जान पाइन सरहरुलाइ नरिसाउन भन्न चाहन्छु। तपाईंले पनि हाम्रो सिनेमाको प्रमोसन गर्दिनुहोस है। ‘महाजात्रा’को एउटा टिसर्ट तपाइलाइ पनि माग्दिन्छु नि ।” ‘हस’ भनेर मुसुक्क हासे अनि उनका अबोध रहर र असिमित चाहना प्रती शुभकामना दिदै म भने उनीबाट बिदा भए ।