Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

धेरै सिनेमाको पारिश्रमिक माया मारेको छु : विनोद लामा

काठमाडौं
निर्माता विनोद लामा पाख्रीनको निर्माण रहेको सिनेमा “सरी मम” बनेर तयार भएको छ । मेकअप आर्टिस्टको रुपमा नेपाली सिने जगतमा दुई दशक अघि प्रवेश गरेका लामाले यो सहित कखरा सिनेमा समेत निर्माण गरेका छन । “कखरा” मा महानायक राजेश हमाललाई लिएर काम गरेका बिनोद “सरी मम” मा भने सरिता लामिछानेलाई लिड क्यारेक्टर दिएका छ्न । उक्त सिनेमा यही माघ पाच गतेबाट प्रदर्शनमा आउदै गर्दा हामीले उनै बिनोद संग संक्षिप्त्त कुराकानी गरेका छौ :

नेपाली निर्मातालाई यो सिने क्षेत्रमा टिकेर रहन कतिको सहज छ ?
राम्रो टिम समातेर काम गर्यो भने टिक्न सजिलो छ । किनभने सिनेमा बनाउनु चानचुने कुरा होइन । रहरले आएका निर्मातालाई गार्हो छ । तर यही क्षेत्रमा केही गर्छु भनेर आउने हो र राम्रो समुह छनेर काम गर्ने हो भने भविष्य उज्ज्वल छ ।

तपाइले पहिले बनाएको “कखरा” र अहिले बनाएको “सरी मम” सिनेमामा के फरक छ ?

मेरो पहिलाको सिनेमा पनि सोसल अवेरनेस सिनेमा नै हो । उक्त सिनेमा ६५ मिनेटको थियो । डकुमेन्ट्रीको फर्ममा बनाएको थिए । यो चै देशै भरी हलमा लगाउने सिनेमाको रुपमा लिएर जाउ भन्ने हिसावले बनाएको हो । दुबै सिनेमाको कथा राम्रो छ । र सबैले मनपराइदिनु हुन्छ भन्ने अपेक्षा गरेको छु ।

पहिलो सिनेमामा राजेश हमाललाई चर्चाको लागि लिनुभयो भन्ने गरिन्छ नि ?

चर्चाको लागि मात्रै होइन । किनकी मैले राजेश दाईसङ स्पेसल मेकअप आर्टिस्ट भएर पनि लामो समय काम गरेको छु । त्यसैले उहाँ सङ राम्रो चिनजान भयो । र मैले उहाँलाई मोटिभेसनको लागि न्यारेटिभ क्यारेक्टरको लागि कुरा गरे । लिनु नै परेपछि अन्य लाई भन्दा पनि उहाँलाई किन नलिने भन्ने भयो । किनकी उहाँ ले बोलेको कुरा धेरै मानिस सम्म पुग्ने गर्छ । दाइ सङ कुरा गर्दा उहाँ राजी हुनुभयो र उहाँको सहयोगको कारण हाम्रो सिनेमामा उहाँ हुनुहुन्थ्यो । उहाँले हामीलाई सहयोग नै गरेको भन्नुपर्छ ।

सिनेमाको दुईपटक प्रदर्शन मिति सरिसक्यो । प्रचार गर्दा सामाजिक सचेतनाको लागि बनाएको सिनेमा भन्दै गर्दा हल नै पर्खिनु पर्ने कुनै खास कारण छ र ?

हाम्रो १५डिसेम्बरमा सिनेमा रिलिज थियो । अवतार रिलिज मिति भने २३डिसेम्बर थियो । हामीले प्रदर्शन मिति घोषणा गर्दा अन्य कुनै सिनेमा उक्त मितिमा रिलिज गर्ने तयारी थिएन । अन्य कुनै सिनेमा छैन, हलवालालाई पनि राहत मिल्छ होला यही मितिमा लगाउ न भन्ने भयो । तर अचानक १६ तारिकमा अवतार आयो । तर म डराएर सिनेमा पछि सारेको भने होइन । मैले हलवालालाई बरु मलाई एक शो दिनुस जतिले हेर्नुहुन्छ, हेर्ने ले मन पराउनुहुन्छ । दिन खोजेको सन्देश हेर्ने दर्शक माझ पुगिहाल्छ भनेको थिए । तर हलवालाले आफ्नो ब्यवसाय पनि हेर्छ । त्यसैले मैले हलवालाको मर्का बुझेर पछि रिलिज गर्न तयार भए । त्यसको एक दुइ हप्ता पछि रिलिज गर्ने सोच्दा उक्त समय बिध्यार्थीको परिक्षा हुने समय पर्यो । बिध्यार्थी नै सिनेमाको लक्षित दर्शक भएको हिसावले उक्त समय पनि सुहाउदिलो भएन । माघ एकबाट स्कुल लाग्ने भएकोले रिलिजको निर्णय माघ पाचलाई गरेको छौ । यो मितिबाट चै पछि सर्दैनौ । यदी हलले शो दियो भने ठिक छ दिएन भने पनि हामीलाई केही फरक पर्दैन । किनकी यो सिनेमा हामी कलेजमा, स्कुलमा, सामुदायिक भवन, पार्टी प्यालेस देखि खुल्ला स्थानमा समेत प्रोजेक्टरमा देखाउन सक्छौ ।

सिनेमा चल्न महत्वपुर्ण भुमिका कस्को रहन्छ ?

सिनेमाको बिषय राम्रो भयो भने र त्यस बिषयलाई कलाकारले न्याय दिन सक्यो भने सिनेमा राम्रो बन्छ । बिषय एउटा छ कलाकार अर्को लयमा बगेको छ भने सिनेमा डामाडोल हुन्छ । कथा अनुसार कलाकार छनौट गर्नुपर्छ । त्यस पछि प्राविधिक टिम बुझ्ने र मेहनतिलो पर्यो भने राम्रो हुन्छ । स्टारले मात्रै सिनेमा चल्छ भन्ने मलाइ लाग्दैन । इनिसियल व्यापार स्टारको नामले जान सक्ला तर स्टारडमले पनि धेरै दिन सिनेमा हलमा कहाँ टिकेको छ र ! बिषय राम्रो भयो भने दर्शकको मन छुन्छ । दर्शकको मनमा बस्यो भने सिनेमा चल्छ ।

फ्लप मेकर्सले पनि दोहोर्याएर सिनेमा बनाएको देख्न सकिन्छ ? यो क्षेत्रमा त्यस्तो के छ कि जो एक पटक सिनेमा बनाउन थाले पछि निरन्तर लागिरहन्छन ?

सिनेमा मेकिङ एउटा नसा हो । मैले नै यो क्षेत्रमा काम गरेको दुई दशक बढि भयो । काम गर्दै जादा मैले पनि एउटा सिनेमा बनाउन पाए हुन्थ्यो भन्ने सोच हुदो रहेछ । यही सोचलाई मैले निरन्तरता दिइरहेको छु । अन्य निर्माताले पनि एउटा सिनेमा फ्लप भए पनि सक्सेस भए पनि अर्को सिनेमा चै बनाउने रहेछन । फ्लप भए पनि अर्को सिनेमा अझ अब्बल बनाउछु भनेर निर्माता लाग्ने गर्छन । हिट हुनेले त पक्कै अर्को बनाउछ नै । तर नया आउने निर्मातालाई म नबुझी हात नहाल्नु भन्न चाहन्छु । बुझेर लगानी गर्न सके मात्रै लगानी सुरक्षित हुन्छ । लगानी गर्दा राम्रो प्राविधिक देखि कलाकार टिम सङ सहकार्य गर्नुहोस भन्न चाहन्छु । विभिन्न सङ्घ सस्था छन, कलाकार, नृत्य, द्वन्द, प्राविधिक सबैको । यी सस्थाहरुमा गएर सल्लाह सुझाव लिएर नया निर्माता आएमा यो सल्लाहले सकारात्मक भुमिका खेल्नेछ ।

लामो समय प्राविधिकको रुपमा काम गर्नुभयो । अहिले सिनेमा निर्माणमा हुनुहुन्छ । कुन काम सहज हुनेरहेछ ?

काम त आखिर काम नै हो । म लामो समय मेकअप आर्टिस्ट भएकोले जुनसुकै समय कलाकारको साथ मै हुनुपर्थ्यो । कुनै पनि काम त सजिलो त छैन । निर्माताको रुपमा चै सिनेमा बनाउन भन्दा चलाउन गारो छ ।

प्राविधिकको रुपमा काम गरेकोले पारिश्रमिक लेनदेनको समस्या बुझ्नु भएकै होला । आफ्नो सिनेमामा यो बिषयमा कतिको क्लियर व्यवहार गर्नुभयो?

मैले आफुले काम गर्दा धेरै सिनेमाको पारिश्रमिक माया मारेको छु । नदिने भए पछि कति समय धाउने भन्ने लाग्यो । घर चलेकै छ भनेर मैले माग्नै छोडिदिए । मैले काम लगाउदा सुरुवात मै क्लियर कुरा गरेको हुन्छु । समयमा दिन सकिन भने नरिसाउनु भनेको हुन्छु । तर मुख्य मुख्य कलाकारको केही रकम बाकी छ । केही सानो रकम नदिदा उहाहरुले “बिनोद पैसा ले ले” भनेको पनि छैन । तर मैले च्यारिटी शोहरु हुदा पहिलो प्राथमिकतामा उहाँहरुलाई राखेर मैले पैसा चुक्ता गर्छु भनेको छु । सानो सानो काम गर्नेहरुको रकम भने पहिला नै चुक्ता गरिसकेको छु ।