Sur Cinema

नीर शाह हजुरबा बन्दै

काठमाडौं : लक्ष्मीपूजाको अवसर पारेर नयाँ नेपाली सिनेमा ‘हजुरबाले भनेथे’ निर्माणको घोषणा गरिएको छ । नीर शाहको मुख्य भूमिका रहने सिनेमालाई सुरेश न्यौपानेले निर्देशन गर्नेछन् ।

सान्भी इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने सिनेमाका लागि निर्माता शोभित बस्नेतले नीर शाहलाई मुख्य भूमिकामा अनुबन्धित गरेका हुन् । सिनेमामा शाह हजुरबाको भूमिकामा देखिनेछन् । तर, उनका नातिको भूमिकामा को रहने भन्ने टुङ्गो लागिसकेको छैन ।

ए टु जेड क्लिनिङ सप्लायर्स सिड्नीको तर्फबाट कृष्ण थापा, बन्धुराज वाग्ले, रोमिन पिया र समीर शाहीको प्रस्तुति रहने सिनेमाका निर्माता निरोज श्रेष्ठ हुन् । नवीन घायल कार्यकारी निर्माता रहेको सिनेमामा हिमाल भण्डारी सहनिर्माताका रूपमा रहनेछन् ।

सिनेमामा दुई नायक र दुई नायिका रहने निर्माण पक्षले जनाएको छ । अन्य कलाकार तथा प्राविधिक टोलीको जानकारी चाँडै सार्वजनिक गरिने बताइएको छ । आगामी माघ महिनाबाट छायांकन सुरु हुने फिल्मको ६० प्रतिशत छायांकन अस्ट्रेलिया र बाँकी ४० प्रतिशत जुम्लामा गरिनेछ ।

‘परान’पछि नीर शाह यस सिनेमामार्फत पुनः शीर्ष भूमिकामा देखिन लागेका हुन् । कमेडी तथा पारिवारिक कथामा आधारित रहने सिनेमाले दर्शकलाई भरपूर हँसाउने र भावुक बनाउने लक्ष्य राखेको निर्माण पक्षले जनाएको छ ।