Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

दर्शकलाई नयाँ स्वाद दिने ‘फिरफिरे फिरिरी’ ट्रेलर

काठमाडौँ : हरर कमेडी सिनेमा ‘फिरफिरे फिरिरी’ को ट्रेलर सार्वजनिक गरिएको छ । छठ पर्वको दिन पारेर कात्तिक २२ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको छ ।

२ मिनेट ४२ सेकेण्ड लम्बाईको ट्रेलरले गाउँघरमै बसेर विभिन्न पेशा अंगालेका चार युवकहरुको जीवनमा अचानक एक युवतीको आगमनपछि उत्पन्न परिस्थितिलाई हाँस्य शैलीमा देखाएको छ । ट्रेलरको अन्त्यतिर युवतीलाई भूतको रुपमा प्रस्तुत गर्न खोजिएको छ । ‘आज साइकल, भोलि फरारी’ ट्यागलाइन दिइएको सिनेमाले दर्शकलाई नयाँ स्वाद दिने छनक ट्रेलरले देखाउँछ ।

‘जुलेबी’ फेम्ड निर्माता नविन भट्टको निर्देशनमा तयार भएको सिनेमाबाट सन्दीप श्रेष्ठ र भावना उप्रेतीले डेब्यु गरेका छन् भने रविना केसी, पिटर प्रिन्स, मनोज कुमार अधिकारी, शंकर सेढाई, सूर्यमान लिम्बू, पुष्प अवस्थी लगायतको पनि अभिनय छ । निर्देशक भट्ट र सन्दीप श्रेष्ठले सिनेमाको स्क्रिप्ट तयार पारेका हुन् ।

मनोज कुमार अधिकारी सिनेमाका निर्माता हुन् । उनी १५ वर्षपछि निर्माणमा फर्किएका हुन् । उनले यसअघि ‘नौ डाँडा पारी’ र ‘मंगलसूत्र’ सिनेमा निर्माण गरेका थिए । नितिश पुन सह-निर्माता रहेको सिनेमामा जितु तामाङको छायांकन, केशवराज भट्टको कोरियोग्राफी, एलिस कार्कीको ब्याकग्राउन्ड म्यूजिक, प्रशान्त सिवाकोटीको संगीत तथा अनन्त घिमिरेको सम्पादन छ । बिन्दबासिनी क्रियसनको ब्यानरमा निर्माण गरिएको सिनेमालाई देशभर आरआर फिल्म्सले वितरण गर्नेछ। सिनेमाको डिजिटल अधिकार म्युजिक नेपालले लिएको छ।