Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

के हलवालाले नेपाली सिनेमालाई शो नदिएकै हुन त ?

कुमार विनोद पौड्याल
काठमाडौं ।  अहिले काठमाडौंमा अवस्थित मल्टीप्लेक्समा भएको शो बाँडफाँडमा  हिन्दी सिनेमा ” जवान” ले बाजी मारिरहेको छ। आज रिलिज हुने  दुई नेपाली सिनेमा भन्दा  दोस्रो हप्तामा चलिरहेको हिन्दी सिनेमा “जवान” को  शो  निकै बढी छ। ठूला ब्राण्डको मानिने झरना थापा निर्देशित सिनेमाहरू मध्ये सायद सबै भन्दा कम शो पाउने सिनेमा भने यसपालिको ” एक भागवत, एक गीता ”  हो।  दीपक – दीपाले निर्माण गरेको सिनेमा “छ माया छपक्कै” लाई अपवाद मान्ने हो भने दीपेन्द्र लामाको सिनेमामा भने शायद यो कुरा लागू नहोला।

देशको सबैभन्दा ठूलो र उत्कृष्ट मल्टीप्लेक्स चेन क्यु एफ एक्स सिनेमाले काठमाण्डौ उपत्यकामा मात्र दोस्रो हफ्तामा चलिरहेको जवानलाई ३३ ( भाटभटेनी भक्तपुर -८, लबिम सिनेमा -७ , सेन्ट्रल सिनेमा -७ , छाया सिनेमा -६, दरबार सिनेम्याक्स -५ ) वटा शो दिएको छ भने नाङ्गो गाउँलाई १२ ( भाटभटेनी -३, लविम -३, सेन्ट्रल सिनेमा -३ , छायाँ सिनेमा -२, दरबार सिनेम्याक्स -१) र एक भागवत एक गीता लाई जम्मा १० वटा ( भाटभटेनी -२, लबिम -२, सेन्ट्रल सिनेमा -३, छायाँ सिनेमा – २ , दरबार सिनेम्याक्स – १) शो दिएको छ।

त्यस्तै बिग मुभिजले जवान लाई – ५, एक भागवत एक गीता लाई -५, र नाङ्गो गाउँ लाई -४ शो दिएको छ।

रञ्जना सिनेमाले भने जवानलाई -६, नाङ्गो गाउँलाई- ४ र एक भागवत एक गीतालाई- ३ वटा शो दिएको छ भने अरु मल्टिप्लेक्सको शो डिभाइड पनि लगभग यस्तै नै देखिन्छ।

अव प्रश्न आउँछ, हिन्दी सिनेमाले त्यत्रो बढी र नेपाली सिनेमाहरुले किन एकदमै कम शो पाए त??
उत्तर साधारण छ:- प्रदर्शकहरुले त्यही सिनेमालाई राम्रो शो दिन्छन् जुन चल्छ भन्ने  लगभग कन्फर्म हुन्छ, जसको मापन गर्ने धेरै प्रणालीहरु हुन्छन्। अब आउँदा दिनमा शो  बढाउनका लागि ती नेपाली सिनेमाहरुले अन्य सिनेमा भन्दा बढी व्यापार गर्न सक्नु पर्छ, चाहे त्यो जुनसुकै भाषाको होस्।

यस्तो कहिले पनि भएको हुँदैन की नेपाली सिनेमाले शो नै न पाओस्।  नेपाली सिनेमाले ५१ देखि  १०० दिन पनि   ठूला चेनहलहरुमा मज्जाले  मनाएका छन्। राम्रो संख्यामा शो हरू पाएका छन् । विदेशी सिनेमाहरुलाई रिप्लेस गरेका छन्। लूट सिरिज, कबड्डी सिरिज, छक्का पञ्जा , प्रेमगीत सिरिज , जारी लगायत अन्य सिनेमाहरू यसका ज्वलन्त उदाहरण हुन।

के तपाईंलाई थाहा छ , एउटा शो चलाउँदा हलको कति खर्च हुन्छ ?? एउटा हलमा कति जना स्टाफले काम गर्छन्, त्यो कहिले हेर्नु भएको छ ? त्यो बाहेक उसका अन्य खर्चहरु कसले जोडेको छ?  अब घाटाको व्यापार त कसले गर्छ , र ?

त्यही भएर अहिले मेरो सिनेमाले कम शो पायो भनेर मीडिया स्टन्ट गर्नु भन्दा तपाईंको सिनेमा प्रति दर्शकको क्रेज बढाउनुस्।  सिनेमाले अहिले पाएको शो मा नै राम्रो व्यापार गर्यो भने शो संख्या  प्रदर्शकहरुले आफैं बढाउँछन्।  विदेशी भन्दा नेपाली सिनेमाहरु चलाउन पाउँदा प्रदर्शक, वितरक र निर्माता सबैलाई झनै फाइदा हुन्छ।

एउटा कुरा याद राखौ, सिनेमा प्रदर्शक पनि व्यापारी हुन, उनीहरूले पनि करोडौं रुपैया खर्च गरेर हल बनाएका हुन्छन्। कम चल्ने सिनेमा भन्दा उनीहरू पनि  डिमाण्ड अनुसारको सिनेमा चलाउने गर्छन् । नो डाउट, दोस्रो हप्तामा भएपनि शाहरुख खानको जवानको क्रेज हाम्रा नेपाली सिनेमाको भन्दा बढी छ, त्यही भएर उसले बढी शो पायो।  यति चै बुझौं।