काठमाडौँ
सनातन धर्मले भन्छ – ‘शत्रुको पनि मृत्युको कामना गर्नु हुँदैन ।’
तर यो कलियुग हो, यहाँ मानिसहरू मानिसकै हत्या गर्न समेत पछि पर्दैनन् । मृत्युको कामना त कुन ठुलो कुरा भो र ?
पुराना मेकर र स्टन्टमा मात्र भर पर्ने शोभित बस्नेत निर्माता रहेर बनेको सिनेमा “जय हो” प्रदर्शनको सङ्घारमा छ । प्रदर्शन मिति नजिकिँदै जाँदा शोभित भने अरूको मृत्युको कामना गर्न मै व्यस्त छन् । त्यो पनि गोप्य रूपमा होइन खुलम खुल्ला सामाजिक सञ्जालमा ।
उनी लेख्छन् ‘अस्ति अनामनगर मा आएको बाढीले लाइभ एमसिआर, ओईपिएल र पूर्व रमाइलो टिभी डुबाएछ । तर त्यसका सञ्चालकहरू बाचेछन् दुखद खबर !’
यी हरफ उनले सामाजिक सञ्जालमा सबैले देख्ने गरी राखेको पोस्ट हो । यस्ता उनका पोस्ट निरन्तर आइरहेका छन् ।
अब कुरा गरौँ नदेखिएको पाटोको,
उनको सिनेमा ‘जय हो’ हलमा आउनै लाग्दा केही प्राविधिकले पारिश्रमिक नपाएको गुनासो पनि नेपथ्यमा सुनिन्छ । खुलेर आउन नचाहेका ती प्राविधिकहरू आफ्नो पसिनाको मूल्य नपाउँदाको दुख भन्दा पनि शोभितका यस्ता पोस्ट देखेर विरक्त लागेको बताउँछन् । ‘अरूको श्रमको महत्त्व नबुझ्ने, अझ भनौँ पारिश्रमिक दिन हिचकिचाउने तर आफूले उठाउन बाँकी रकमका बारे नाम नै लेखेर त्यस प्रकारको पोस्ट गर्ने ?’ नाम उल्लेख नगर्ने सर्तमा ती प्राविधिकले सुर सिनेमासँग गुनासो पोखे ।
जानकारहरू भन्छन् -‘कतिको पारिश्रमिक पूरा दिइयो त, कति जनाको हिसाब किताब भएको छैन, त्यो त शोभितलाई भन्दा बढी कस्लाइ थाहा होला र ?’ तर अरूको खुलेआम मृत्युको कामना गर्ने शोभितमाथि श्रमको मुल्य नपाएका श्रमिकले पनि तपाईं लक्षित अनर्गल कामना गरे भने, कस्तो महसुस होला निर्माता ज्यु ?
‘डाँडाको वर पिपल’ नाम को सिनेमामा धेरै बोलेर दुख पाइसकेका शोभितले विगतका गल्तीबाट सिक्दै अरूमाथि मृत्युको कामना गर्न बन्द गर्नु नै भलाइ हुन्छ । आफ्नो सिनेमा चल्नै लाग्दा यस किसिमका निकृष्ट भावनाहरू पोख्नु, त्यो पनि सामाजिक सञ्जालमा, तपाईको ब्यक्तित्वलाई सुहाउँदैन ।
सिनेमा मार्फत समाज लाई मनोरञ्जन र सन्देश दिने तपाइको कर्ममा, तपाईं प्रति असन्तुष्टि भावना राख्ने ती श्रमिकहरूको श्राप भन्दा पनि आशीर्वाद लाग्ने कार्य गर्न आफ्नो कार्यशैली लाई निरन्तरता दिनु नै उत्तम हुनेछ, जय हो ।