Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

लय गुमाउँदै सिनेक्षेत्र

काठमाडौं 
करोडौं लगानी हुन थालेका छन्, आजभोली नेपाली सिनेमामा । तर यो लगानी बालुवामा पानी हुँदै गएको सबैलाई थाहा छ । जसले गर्दा निर्माता खहरे खोलामा उकालो चढेका माछा जस्ता छन्, निर्देशक जलारी ।

एकथरी सिनेमाका मसिहाहरु भन्छन्, ‘नेपाली सिनेमा बनाउन, चलाउन र चल्न गारो छ ! किनभने उनिहरुको बलबुता भन्दा धेरै पर पुगिसक्यो सिनेमा मेकिङ्ग ।’ अर्काथरी सिनेकर्मी भन्छन्, ‘ जो आफ्नो निर्णयमा बस्न नसक्ने, अरुको सल्लाहमा धर्मराउने, प्रतिष्ठा र रहरका लागि मात्रै सिनेमा सोच्छन् तिनीहरुले बजार बिगारे ।’ यी धारका सिनेकर्मीको आरोप छ, समय सापेक्ष बिषय  र बाचन, फर्मुला, ब्याकरण, निष्ठा र साधनासँग यिनिहरुको कुनै साइनो छैन, छ त नाम र दामको ।

पुस्ता परिवर्तन भएसंगै सोच परिवर्तन भएको छ, जुन आवश्यक छ । जसलाइ सम्बोधन गर्न केही फिल्म कलेजले उत्पादन गरेका बिद्यार्थिहरु  छन, तर तिनिहरु पनि आफ्नै दिमाखले बनाएका सपनामा रमाएका भेटिन्छ्न । जसले गर्दा, राम्रो प्रयास गर्दागर्दै पनि उनिहरु आफ्ना सृजनालाई सतह मै केन्द्रित गराउन पुग्दछन् , फलस्वरुप कलामा उनिहरु पोख्त भएपनि ब्यबसायीक हिसावले कमजोर बनिदिन्छन् । बक्स अफिस कमजोर बन्ने बित्तिकै उनिहरुको सिनेमामा लगानी गर्ने निर्माता भाग्छन् ।

अघिल्लो बर्ष कबड्डि ४, महापुरुष, झिङ्गेदाउ,  छक्का पन्जा ४ जस्ता सिनेमा सर्वाधिक हिट भए । यो बर्षको सुरुवातमा जारी सिनेमाले दर्शक लाई मोहित बनायो । यो सिनेमाले अहिलेसम्म हल छाड्न सकेको छैन ।

अहिलेको मुख्य प्रश्न पनि यहि हो । यदि सिनेमा नचल्ने भए यी सिनेमा किन र कसरी चले ?  सिनेमा चल्न छाडे भन्ने ‘ज्योतिषी’ हरुसँग पनि   यो प्रश्नको उत्तर छैन । अझ भनौं उत्तरको अपेक्षा नराख्दा राम्रो ।

बिषय, बिषय अनुसारको रङ्ग र ब्यबसायिक सिनेमा बनाउनेहरु औलामा गन्न सकिने छन् सिने बजारमा । बाँकी आफुलाइ अब्बल ठान्नेहरु अँध्यारोमा झटारो हान्नमै रमाउछन् । फलस्वरुप सिनेमा हलमा दर्शकको उपस्थिती पातलिदै छ  र सिनेमा प्रतीको मोह पनि घट्दै छ ।

सिने बजारको यस्तो अवस्था आइपुग्नुले धेरै कुराको अर्थ राख्छ । जसमा बिना स्रोतसाधन प्रतिष्ठित हुने लोभ, रङ्गिन माहौलको मोह लगायतले जस्तासुकै मानिसलाई पनि नायकत्व प्रदर्शन गर्ने लालचाले अहम भुमिका खेलेको देखिन्छ ।

चाहे निर्माता हुन्, निर्देशक हुन् या कलाकार । बिना कुनै प्रोटोकल घुसिरहेका छन् सिने क्षेत्रमा । अझै लेखक, निर्देशक भन्दा कलाकार हावी हुनु र त्यसलाई निर्माताले ब्यबस्थापन गर्न नसक्नु यस्ता उत्तेजित सिनेमाका प्रमुख कारण हो । यहि कुरामा अर्को पाटोले पनि काम गरेको छनक आउँछ, त्यो हो आफुलाइ संयोजकको नाम दिदै फाइदा लाई कुरेर बसेका ‘बिचौलिया’ को उपस्थिती ।

उनिहरुलाई अब्बल र सफल सिनेमासँग कुनै सरोकार छैन । सरोकार छ त केवल आर्थिक लाभको । अझ तोकिएको समय भन्दा अगाडि सिनेमा सम्पन्न गराउन सकियो भने त त्यो बिचौलियाको भुइमा खुट्टा हुन्न ।  सिनेमा कस्तो बन्यो भन्नेसँग कत्तिपनि रहन्न, सिनेमा उनैको मुठ्ठीमा हुनु दुखद हो ।
अझै कलाकारको अल्पज्ञानको कुरै नगरौं । म्युजिक भिडियो खेल्नका लागि आफैले बोलेका अभिब्यक्ति समेतलाई ढाकछोप गर्दै अगाडी बढ्ने दुई नायिका उषा उप्रेती र गरिमा शर्माले दिइका पछिल्ला अभिब्यक्ती सानो उदाहरण हो ।

त्यसैमाथी सिने क्षेत्रमा च्याउ जसरी उम्रेका संघसंस्था र राजनितीक भातृ संगठनको दवदवा अर्को समस्या हो । राजनितिक फाइदाका लागि उम्रीएका असरल्ल संघसंस्था, जसलाई सिने बजार बिस्तारका लागि न कुनै चासो छ न चिन्ता नै । यिनिहरुलाई चासो छ त केवल दिनहु जसो आयोजना हुने अर्थहिन अवार्ड तथा सम्मान कार्यक्रममा अवार्ड बितरण गर्न र अन्य कार्यक्रम मा अतिथी भएर उपस्थिती हुन ।

देश र समाजको प्रतिनिधित्व गर्दै सिने सौन्दर्यता मार्फत व्यवसायिक सफलता हासिल गर्ने कसैको मनसाय र हेक्का छैन । अन्य देशले सिनेमालाई सफ्ट पावरको रुपमा प्रयोग गर्न थालिसकेको पनि यि मन्द बुद्दि होल्डरलाई थाहा छैन । हुन त राष्ट्रकै उपल्लो तहमा बसेकाहरु समेत राजनितीक दोहोरीमा तल्लिन भइरहेको अवस्थामा देशका अन्य गतिबिधी  धमिलो हुनु स्वभाविक हो ।

त्यसो भन्दैमा आफुले सङ्कल्प गरेर लिएको जिम्मेवारीलाई  लथालिङ्ग बनाउनु उचित हैन । यस्तो थिलथिलो परिस्थितीमा रातदिन नभनी  सिने चेतका लागि जिम्मेवारी महसुस गर्दै सपना देखेका ती कैयन आत्माहरु यसको चेपुवामा परेका छन् । जस्लाइ उठाउनको सट्टा झनै ठुलो भारी थपिदिएको छ । अझभनौ, यी कलाका ठेकेदार बिचौलियाहरुले चेपुवामा परेका सिनेकर्मीलाई झनै थिचेका छन्, उठ्न दिएका छैनन् ।

बार्गेनिङ्ग को अङ्क आफ्नो पक्षमा जहाँ बड्छ, बिचौलियाको  टिम त्यही तयार हुन्छ ।यो राम्रो सिनेमा हो, यसले प्रचारप्रसारमा खर्च गर्न सकेन त के भो, अरुलाई भन्दा कम पैसामा यसको प्रचार गरौं न त भन्ने भावना बिचौलियाको मनमा पैदा नहुनु निकै घातक हो । फलःस्वरुप गतिला र अब्बल मेकर सम्म सिनेमा निर्माण आइपुग्दैन अनि सिनेमा कोमामा पुग्छ । 

यो प्रवृत्तिले केहि क्षणका लागि सिनेमामा काम गर्ने सबैलाई आर्थिक लाभ त होला तर जस्को लगानी छ, उस्को हात सदैब थाप्लोमा रहन्छ ।  सिनेमा निर्माण उसका लागि (लगानीकर्ता) सधै नमिठो सपना भएर आँखामा  बसिदिन्छ । इतिहास नै छ, सिनेमा डुबेर आत्महत्या समेत गर्न परेका निर्माताहरुको ।

यी र यस्ता  बेतिथीका कारण नेपाली सिने क्षेत्रले लामो समयदेखि सक्षम र बुझ्ने अभिभावकको अभाव खेपिरहेको गरेको छ । यदि अहिले चर्चामा आइरहेको ‘चलचित्रको कार्य नीति २०८०’ मा राजनिती नछिर्ने हो र आफ्नो उद्देश्यमा अडिग रहने हो भने अहम भुमिका खेल्नसक्छ । अभिभावक बन्नसक्छ सिने क्षेत्रका लागि सिनेमाको कार्य नीति २०८० ।