Sur Cinema

‘चिरञ्जीवी भवः’का दुई पोस्टर सार्वजनिक, हरिवंशको फरक अवतार

काठमाडौं : दीपकप्रसाद आचार्य ‘काकु’को निर्देशनमा बनेको सिनेमा ‘चिरञ्जीवी भवः’का दुई पोस्टर सार्वजनिक भएका छन् । शनिबार सार्वजनिक पोस्टरमा हरिवंश आचार्य, आशीर्वाद क्षेत्री र प्रशंसा रायमाझीलाई प्रस्तुत गरिएको छ ।

एउटा पोस्टरमा हरिवंश गम्भीर मुद्रामा देखिएका छन् भने आशीर्वाद र प्रशंसा हँसिलो मुद्रामा छन् । अर्को पोस्टरमा भने हरिवंशले आशीर्वादलाई आशीर्वाद दिइरहेको दृश्य छ । यसले उनीहरू बाबु–छोराको भूमिकामा रहेको संकेत गर्छ । सिनेमामा हरिवंश ‘चिरञ्जीवी बाजे’को चरित्रमा देखिँदैछन् ।


ब्लकबस्टर सिनेमा ‘परान’का निर्देशक आचार्यको यो दोस्रो निर्देशन हो । सोसल ड्रामा जनरामा निर्माण भएको सिनेमाले दुई पुस्ताबीचको वैचारिक भिन्नता र पारिवारिक सम्बन्धको कथालाई प्रस्तुत गर्नेछ । कुमार कट्टेल ‘जिग्री ब्रो’को कथामा दीपकले सिनेमा निर्देशन गरेका हुन् ।

जिग्री इन्टरटेनमेन्ट र प्रिमियर प्रोडक्सनको प्रस्तुतिमा बनेको सिनेमामा हरिवंश, आशीर्वाद र प्रशंसासँगै करिश्मा मानन्धर, मिश्री थापा, कमलमणि नेपाल, अभय बराल, सुमन कार्की, सुवर्ण थापा, तुलसी घिमिरे, सरोज अर्याल र हरिस निरौलालगायत कलाकारको अभिनय छ ।

उमेशकुमार बराल र चिरन केसी निर्माता रहेको सिनेमामा गजित विष्ट र शैलेश खत्री कार्यकारी निर्माता छन् । सिनेमा आगामी माघ १ गते (१५ जनवरी) देखि देशव्यापी प्रदर्शनमा आउनेछ ।