Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

अनुमति बिना ‘१२ गाउँ’ प्रदर्शन : म्याजिक सिनेमा हल र क्यूभ मुभी सर्वरमाथि कार्वाहीको माग

सुमित कार्की

धरान : सुनसरीको झुम्कामा रहेको म्याजिक सिनेमा हलले सिनेमा ‘१२ गाउँ’ वितरकको अनुमती बिना प्रदर्शन गरेको पाइएको छ । 

विराज भट्ट निर्देशित एक्सन सिनेमा ‘१२ गाउँ’लाई कुबेर सिने डिस्ट्रीब्यूसनले उपत्यका बाहिर वितरण गरेको हो । तर वितरकको पूर्वजानकारी र स्वीकृतिबिना नै क्यूभ मुभी सर्वरका संचालक पदम श्रेष्ठ र म्याजिक सिनेमा हलका संचालक पर्शुराम चौधरीले गैरकानुनी रूपमा ‘१२ गाउँ’ प्रदर्शन गरेका हुन् ।

कुवेर सिने डिस्ट्रीब्यूसनका एक पदाधिकारीले भने,‘हामीले म्याजिक सिनेलाई सिनेमाको कोड (केडीएम) पठाएका थिएनौं । कुनै जानकारी नै नगराइ हलले हाउसफुल शो चलाएको कुरा थाहा पाएपछि हामी कानुनी प्रक्रिया रोज्न बाध्य भयौं ।’

वितरण कम्पनीले यस गैरकानुनी गतिविधिका दोषीलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीमा निवेदन दर्ता गराएको छ भने  निवेदनमा दोषीलाई कानून बमोजिम सजाय र पीडितपक्षलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गरिएको छ।

यस्तै, चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण कुमार प्रधानले यस घटनालाई गम्भीर रूपमा लिँदै हल संचालकले गरेको कार्य पूर्ण रूपमा गलत रहेको बताएका छन् । प्रधानले भने,‘यस्ता गतिविधीले वितरण कम्पनीहरूलाई ठूलो क्षति पुर्याउँछ । दोषीलाई कडा सजाय हुनु आवश्यक छ । अब सबै सिनेकर्मी र हल संचालकहरू यस्ता घटनामा सजग हुनुपर्छ।’

यो घटनाले नेपाली सिने उद्योगमा वितरकका अधिकार र सिनेमा प्रदर्शनको सुरक्षामा गम्भीर प्रश्न उठाएको छ, जसले कानुनी संरचनाको सुदृढीकरणको आवश्यकता औंल्याएको छ।