Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

दक्षिण भारतीय चर्चित कलाकारहरुका कारण चर्चामा ‘ह्रस्व दीर्घ’को टिजर

काठमाडौं : अभिनेत्री निता ढुंगानाको लगानी निर्माण भएको सिनेमा ‘ह्रस्व दीर्घ’को टिजरलाई दर्शकले रुचाएका छन् । दशैंको फूलपातीको अवसर पारेर रिलिज गरिएको सिनेमाको सार्वजनिक टिजरले हालसम्म ९ लाख भन्दा बढि भ्युज र उल्लेख्य लाईक सहित अधिकांश सकारात्मक प्रतिक्रिया पाएको छ ।

सिनेमाको सस्पेन्स टिजर र दक्षिण भारतीय चर्चित कलाकारहरुका कारण पनि ‘ह्रस्व दीर्घ’ चर्चामा छ । नेपाली सिनेमामा साउथका कलाकारलाई देख्न पाइएको भन्दै अधिकांश दर्शकले टिजरको कमेन्टबक्समा खुशी प्रकट गरेका छन् । जसले सिनेमाको सार्वजनिक टिजरले दर्शकमाझ राम्रो हाइप बनाएको छनक दिएको छ ।

सिनेमाको टिजरमा एउटै नक्षत्र, ग्रह र भाग्य भएका प्रेम जोडीको सम्बन्ध र उनीहरुको जीवनमा आउने आरोह-अवरोहको कथा देखाइएको छ । सिनेमाको सार्वजनिक टिजरमा अभिनेता हरिहर अधिकारी र अभिनेत्री नीता ढुंगाना प्रेम जोडीको रुपमा प्रस्तुत छन् ।

लामो समयपछि नेपाली सिनेमामा कमव्याक गरेकी अभिनेत्री विपना थापालाई राजनीतिज्ञको रुपमा देखाइएको बुझिन्छ भने अर्की अभिनेत्री रेखा थापा ज्योतिषको भूमिकामा देखिएकी छन् । टिजरमा साउथका कलाकारहरु ब्रह्मानन्दम, अली, सुनिल वर्मा, प्रदीप रावत, कबीर दुहन सिंहलाई पनि स्थान दिइएको छ ।

नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता धनन्जय गलानी हुन् भने सिनेमालाई चन्द्र पन्तले निर्देशन गरेका हुन् । सिनेमामा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायतका कलाकारको अभिनय रहेको छ ।

अभिनेता हरिहर अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको सिनेमालाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् । यो सिनेमा नेपाली, तेलुगु र हिंन्दी गरी तीन भाषामा रिलिज हुनेछ ।