Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

दर्शक प्रतिक्रिया जस्तै छ त ‘रावायण’को शिर्ष गीत ?

काठमाडौं : तिजको अवसर पारेर भाद्र २१ गते बाट सार्वजनिक प्रदर्शनमा आउन लागेको सिनेमा ‘रावायण’को शिर्ष गीत सार्वजनिक भएको छ । यही गीत मार्फत सिनेमामा मुख्य कलाकार पल शाहको चरित्रलाई केही हद सम्म दर्शकले अनुभुत गर्न पाएका छन् । पल बिना सिनेमा नै गर्दिन भन्दै बसेकी नायिका पूजा शर्मा र निर्देशक सुदर्शन थापालाई पनि यो गीतमा देख्न सकिन्छ ।

सिनेमा भब्य भएको भन्दै निर्माण युनिटले प्रमोसन गर्न थालेको छ । युट्युव र सामाजिक सन्जालका प्रतिक्रिया नियाल्ने हो भने गीत रिलिज भएको २ दिन बितिसक्दा सम्म पनि सकारात्मक प्रतिक्रियाको ओईरो लागेको छ भन्दा फरक नपर्ला । सामाजिक सन्जालमा आएका प्रतिक्रियाको प्रसंसाको शैली हेर्दा हेर्दै पनि कहि कतै केही नमिलेको भान भने पक्कै हुन्छ ।

पलको चरित्रको कुरा गरौ, पलका दुई लुक्सलाई गीतमा देखाइएको छ । एउटामा उनी चिल्लो गाला चम्किलो अनुहारमा देखिन्छन भने अर्कोमा लामो कपाल दारी र कही कतै तपस्वीको झै लुक्स देख्न सकिन्छ । तर, उनका दुबै लुक्स कन्भिन्सिङ भने सायदै दर्शकलाई लाग्दैन् । पहिलो लुक्समा ‘नाई नभन्नु ल ४’ को चकलेटी नायक पलको टाउको लगेर बडिबिल्डर जस्तो लाग्ने ब्यक्तिको शरीरमा टासिएको भान हुन्छ भने दोश्रो चरित्रमा उनको नक्कली कपाल र दारीको बारेमा भएका ट्रोल मात्रै हेरे पर्याप्त हुन्छ ।

चरित्रमा मेहनत फिटिक्कै नगर्ने तर “स्टार” बन्ने भुतले नछोड्ने प्रथाले पनि कलाकारको अभिनयको आयु कतिको होला भनेर आशकां गर्ने ठाउँ भेटिन्छ । धेरै यस्ता कलाकार छन् जसले आफ्नो लुक्स रियल देखाउन वर्षौं मेहनत गर्छन र कोही कलाकार यस्ता पनि छन् जसलाई कस्ट्युम डिजाइनर र मेकअप आर्टिस्टले रियल क्यारेक्टर बनाउन हरसम्भव प्रयास गर्छन तर कलाकार स्वयमले एक्स्प्रेसनमा एक प्रतिशत पनि काम गर्दैनन्/गर्न सक्दैनन् र चरित्र कै बेइजत गरिदिन्छन् । र, भन्छन् ‘नेपाली सिनेमालाई माया गरिदिनुस’ ।

उक्त गीतमा पूजा शर्माको पनी अनुहारमा पर्याप्त एक्स्प्रेसन देखिएको छैन् । निर्देशक थापाको त के कुरा गर्नु, नायक बन्न सिने जगत छिरेका सुदर्शन निर्देशक बनेका त छन् तर, उनको पर्दामा देखिने लोभ हेर्दा लाग्छ उनी एक ताकाका आफ्नै सिनेपार्ट्नर सन्तोष सेन कै पदचाप पछ्याउदै छन् ।

सिनेमाको नाम ‘रावायण’ लाई लिएर पनि प्रदर्शनको समयमा बिरोध हुन सक्छ ! पब्लिसिटीका लागि हुने यस्ता हर्कत कहिले सिनेमाका टिम तर्फबाटै गराईन्छ त कहिले धर्मको ब्यापारीहरुले यस्तो कदम चाल्छन् । आशा गरौ यस पटक यस्तो नहोला । तर, गीतमा समेटिएका शब्द हेर्दा सिनेमाले ‘सबै समेट्न खोज्दा केही समेट्न नसकेर’ सिनेमा खोक्रो मात्रै पो बन्यो कि भन्ने पनि लाग्छ । यसको जवाफ पाउन भने पक्कै सिनेमा रिलिज सम्म पर्ख र हेर कै अवस्था बाकीँ रहेको छ ।