काठमाडौं : उनको नाम उच्चारण गर्दा नेपाली सिनेमा बजारले एउटा अब्बल, सक्षम र काबिल कलाकार पाएको भान गराउछ । कार्य क्षमताका हिसावले राम्रा अभिनेत्रीहरुको पङ्क्तीमा, दर्शक र सिनेकर्मीहरुको मुखमा आउने मध्य एउटा नाम हो ‘सुरक्षा पन्त’।
भलै व्यवसायीक सिनेमाको संख्या कम रहे पनि दिर्घकालिन रुपमा छाप छोड्ने प्रकृतिका चरित्रहरुमा आफ्नो समय खर्चेकी पन्त, चाहे त्यो यथार्थबादी होस या काल्पनिक सिनेमा, जुन सुकै बिधामा पनि आफुलाइ खरो रुपमा उभ्याउन सफल मानिन्छिन् ।
पहिलो सिनेमा ‘अझै पनि’ ( निर्देशक स्व. आलोक नेम्वाङ्ग) बाट आफ्नो सिने यात्रालाई आरम्भ गरेकी पन्त, सिनेमा क्षेत्रका लागि आवश्यक बनिसकेकी छिन् । सिनेमा सम्बन्धि विभिन्न अन्तरक्रिया होस या सिनेमा सिकाउने इन्स्टिच्युट्मा उर्जामय वातावरणका लागि आफ्नो गर्विलो उपस्थिति देखाउन सफल मानिन्छिन उनी । उनै पन्त सङ्ग सुरसिनेमाकर्मी सुरेन्द्र थापाले गरेको संक्षिप्त कुराकानी आज हामी प्रस्तुत गर्दैछौ :-
१. ‘अझै पनि’को त्यो बेला र ‘बुलाकी’को यो बेलालाई कसरी बुझ्नु भयो ?
उ बेला सिनेमा गर्दा अलग महसुस हुन्थ्यो सबै नौलो लाग्थ्यो , आफुमा परिपक्वता आइसकेको थिएन, खासै डर हुन्न थ्यो, सिक्दै जाने हो काम गर्दै जाने भन्नेमा आफुलाई केन्द्रीत राख्थे । तर, अहिले चाहिँ जिम्मेवारी महसुस हुन्छ , डर लाग्छ । के गर्ने ? के नगर्ने ? भन्ने चाहिँ सोचेको हुन्छु । अहिले चाहिँ सबैले चिनेकोले, जानेकोले अलि धेरै प्रेसर छ जस्तो लाग्छ आफुमा । जुन मेरो लागि उर्जा पनि हो भन्ठान्छु म ।
२. ‘बुलाकी’मा समावेश तपाइको पात्रले समाजलाई के भन्छ ?
देशको राजधानी लगायत अन्य शहरहरु विकसित भए । तर, कर्णाली जो हाम्रो सानो देश भित्र यति नजिकै छ । त्यहाँका महिलाहरु कति पिछडिएका छन्, कस्ता मुद्दाले उनिहरुलाइ अझै कमजोर बनाइरहेको छ, मेरो पात्रले तिनै कर्णालीबासी महिलाहरुको प्रतिनिधित्व गर्छ । मेरो चरित्रको ऐनामा त्यस ठाउँका महिलाहरुको प्रतिबिम्ब झल्कन्छ । यहीँ राजधानिका महिलाहरु कहाँबाट कहाँ पुगिसके तर, कर्णालिका महिलाले के सम्म भोगी रहेका छन भन्ने कुरा देखाउँछ । जस्को यथार्थ चाहिँ मैले निर्वाह गरेको चरित्रमा महसुश गर्न पाउनुहुन्छ । ती महिलाहरुको प्रतिनिधि पात्र हुँ म जस्ले घर , आगन, बन र पाखाहरुलाई मात्र चिन्छ ।
३. अभिनेत्री सुरक्षा पन्त र समाजको सम्बन्ध कस्तो छ ?
म समाज भन्दा अलग छैन् । म पनि त्यही समाजको एउटा मान्छे हुँ । तर मैले के बिर्सनुहुन्न भने मेरो, समाज प्रतीको जिम्मेवारी ठूलो छ । समाजले मलाइ के दियो भन्दा पनि मैले समाजलाई के दिए , मेरा लागि त्यो महत्वपुर्ण छ। म जिम्मेवार ब्यक्ती हुँ । मेरो कारण समाजमा गलत संदेश र सुचना प्रवाह हुनुहुन्न यो विषयमा भने म सधै सचेत छु ।
४. आजको दिनमा, सिनेमा प्रस्तुतिका हिसाबले हिजोको सिनेमाको गहिराइलाई हामीले ‘मिस’ गरेको छौं भन्ने जस्तो लाग्छ कि लाग्दैन ?
लाग्छ । हामीले अघिल्ला समयमा त्यस प्रकारका वजनदार सिनेमा पनि नबनाएका हैनौं । तर, त्यस्ता सिनेमाले बक्स अफिसमा प्रभावकारी नतिजा नल्याएको कारणले हामी कतै मनोरञ्जन र व्यवसायीक सिनेमामा केन्द्रित भएका हौ कि ! निरन्तर व्यवसायीक सिनेमा निर्माण गर्दै छौं जस्ले एउटा लय समाइसकेपछि हामी त्यस प्रकारका गहिरा र वजनदार सिनेमा निर्माणमा लाग्नु पर्छ जस्तो लाग्छ । ‘मिस’ चाहिँ गरे जस्तो लाग्छ मलाई । म आफै गहन प्रकारका सिनेमाको पारखी हुँ । त्यस्ता सिनेमा हेर्न ,खेल्न मलाइ मन पर्छ । तर मैले मात्र चाहेर त भएन ! म कलाकार हुँ । कला मेरो धर्म हो । कामना गर्छु आउने दिन साच्चै अब्बल र गहन सिनेमामा काम गर्न पाँउ ।
५ . यति लामो समयको अध्ययनमा सिनेमा भनेको के रहेछ ?
सिनेमा भनेको कुनै कथा भन्ने एउटा शक्तिशाली माध्यम हो । जो सिधै पारखीको दिल र दिमाखमा प्रभाव पार्छ । सङ्गै सन्देश प्रवाह गर्ने माध्यम पनि हो । मनोरन्जनको माध्यम त हुँदै हो । यो दर्शक र हामी बिचको सम्बन्धको कडि पनि हो । ब्यक्ती, समाज, क्षेत्र र सामाजिक, सास्कृतिक, मूल्य मान्यतालाई हरेक ठाउँसङ्ग जोड्न सक्ने एउटा गतिलो साहित्य पनि हो । आफुले आफैलाइ सोच्ने, प्रश्न गर्ने प्रसस्त ठाउँहरु सिनेमामा पाइन्छ ।
६ . हल्ला र बाहिरी आवरणमा (सिनेमा क्षेत्रमा) रमाउनेको भिडमा आफु कहाँ छु जस्तो लाग्छ ?
म पनि रमाइरहेको हुन्छु । हल्ला खल्लाहरु मन पर्छ मलाइ पनि । बाहिरी आवरणमा नि घुलमिल भइ रहेकी हुन्छु । कलाकार भएको हैसियतले म आफुलाइ निश्चित ठाउँमा मात्र सिमित राख्न त चाहदिन । मलाई सबै किसिमको परिवेशमा जान र घुम्न मन पर्छ । हल्ला भएन भने हाम्रो उत्पादन धेरै ब्यक्ती माझ पुग्न गारो हुन्छ नि हैन ? फेरि हामी यस्तो क्षेत्रमा छौं जहाँ हल्ला नगरी हुँदै हुन्न । हल्ला नगरे त ढिला पुगिन्छ । तर, हामीलाई त चाडो पुग्नु छ । आफ्नो कामलाई दर्शाउनु छ, बुझाउनु छ भने हल्ला खल्ला पनि गर्न जान्नु पर्छ । तर, त्यो हल्ला कुन प्रकृतिको छ, त्यस्ले सिने क्षेत्र र यस सङ्ग जोडिएका मान्छेलाई कस्तो प्रवाभ र सन्देश गएको छ त्यसमा भने म सधै सचेत रहन्छु । अरु सहकर्मीहरुलाई पनि सचेत हुन आग्रह गर्छु । हामीले यस्तो एउटा कर्म रोजेका छौं जो हाम्रा लागि इश्वर हो, मन्दिर हो । यहाँबाट बितरण हुने प्रसाद गलत हुनुहुन्न भन्ने मान्यता छ मेरो ।
७. हामी यो भन्न सक्छौ ? सुरक्षा पन्त एक जिम्मेवार अभिनेत्री हो, जस्ले आफ्नो तर्फबाट सिनेमाको रङ्गलाइ धमिलो हुन दिनुहुन्न ?
कोसिस गर्ने हो । मेरो इन्टेन्सन ( सोचाइ) ठिक छ । मैले सिनेमालाइ लिएर जुन भाव पालेर राखेको छु त्यो निस्वार्थ छ, सफा छ । तर, हामी यस्तो प्रेसरवाला दुनियाँमा छौ , यस्तो गर्नु पर्छ , उस्तो गर्नु पर्छ भन्ने प्रकारका बिचार , विमर्श आइरहेका हुन्छन् । सोचिरहेको कुराहरु भन्दा पनि फरक लयमा जानुपर्ने स्थिति भनौ आफुले सोचेको कथा र चरित्र भन्दा अलग दिशामा जान पर्ने पनि हुन सक्छ । त्यो बेला सचेत र सजग भएर आफ्नो कर्मलाई न्याय दिने हो । आफुले आफुलाई झकझकाइ रहेको चाहिँ हुन्छु । तर, मेरो नियत र चाहना चाहिँ धमिलो पार्ने खालको हुने छैन् ।
८. तपाई पछिका पुस्तालाई के भन्न चाहनु हुन्छ?
सिनेमामा आउन चाहनुहुन्छ भने नितान्त आफ्नो लक्ष र सपनामा ध्यान दिनु होला । तपाईंले आफ्नो क्षमतामा बिश्वास राख्नु पर्ने हुन्छ । फरक बाटोबाट छिट्टै प्रतिष्ठा कमाउन चाहनु भयो भने चाहिँ तपाइको सपना सबै पानीमा बग्छ । आफ्नो लक्षलाई हरेक दिन “अपग्रेट” चाहिँ गर्नुहोला । काममा इन्जोय गर्न नबिर्सनु कृपया । मैले चाहेको, मैले माया गरेको क्षेत्र हो भनेर यस भित्रका कमि कमजोरीलाई पनि स्विकार्न सक्ने सामर्थ्य राख्नु पर्छ । नितान्त, निस्वार्थ रुपमा माया गर्न चाहिँ सक्नुपर्छ । गारो अप्ठ्यारो क्षणहरु आउलान, त्यसलाई प्रतिकार गर्दै जानू नै सफलतामा पुग्ने माध्यम हो जस्तो लाग्छ ।
९. दर्शक र सिनेमा बिचको त्यो न्यानो सम्बन्धको दुरि बड्दै गएको हो? हो भने त्यो दुरि लाई कसरी घटाउन सकिएला ?
हामी पैसामुखी नभएर मन देखि कथा भन्छौ । समाजको कथाहरुलाई महत्त्व दिइरहेका छौ भने पैसा हाम्रो दोश्रो लक्ष हो । सिनेमा बनाउदै गर्दा हामी पैसा मुखी मात्रै भयौ भने त्यो कुराले पनि दर्शकलाई हामीबाट टाडा बनाउँछ। दर्शकहरुले सबैकुराहरु अध्ययन गरि रहनु भएको हुन्छ । पैसा तिरेर सिनेमा हेर्न जानुहुन्छ तर, अपेक्षाकृत सिनेमा भएन भने उहाँहरुको मन दुख्छ । उहाँहरुलाई त राम्रो सिनेमा हेर्नू छ, आफ्नो सिनेमा हेर्नू छ । तर हाम्रो ( सिनेकर्मी)नियत चाहिँ पैसा मुखी भयो भने दर्शक प्रती न्याय हुन्न । जब दर्शकलाई त्यो महसुस हुन्छ अनि हामी बिच दुरि बड्न थाल्छ । ‘सिनेमा मेकरहरुले सिनेमा आफ्नो लागि बनाइरहेका छन्, हाम्रा लागि बनाइरहेका छैनन्’ भन्ने बुझेपछि दर्शकहरु सङ्ग हाम्रो दुरि बढ्छ नै । मलाई कतै कतै यस्तो लाग्छ , हामी आफैले सिने कर्मलाई फोहोरी बनाइरहेका हुन्छौ । सिनेमा क्षेत्र भित्र अप्रिय घटनाहरु पनि घटिरहेका हुन्छन् । त्यस्ता गलत क्रियाका कारण दर्शकको नजरमा हामी प्रतिको दृष्टिकोण पनि धमिलो हुन जान्छ र यो क्षेत्र चाहिँ ठिक छैन भन्ने पर्न सक्छ । मैले पहिलै भनिसके आफ्नो क्षेत्रलाई आफ्नो कर्मलाइ हामिले माया गर्न जान्नु पर्छ , इज्जत गर्न जान्नु पर्छ बल्ल दर्शकहरुले पनि हामिलाइ इज्जत गर्नुहुन्छ , माया गर्नु हुन्छ । हस नमस्ते!