काठमाडौं : सिनेमा ‘पूजार सार्की’ जेष्ठ १० गतेबाट सिनेमा घरमा लाग्दैछ । सिनेमा प्रचारमा दुई नायक आर्यन सिग्देल र प्रदीप खड्का रफ्तारमा लागिरहेका छन् भने ‘रावायण’ सिनेमाको छायांकनका कारण पल शाह केही कम देखिएका छन् । अब भने प्रचारमा बिस्तारै दुई नायिका परीक्षा लिम्बू र अन्जना बराईली पनि बाहिर निस्किन थालेका छन् । आर्यन र प्रदीप भने प्राय हरेक मिडियामा पुगिरहेका देखिन्छन् ।
सिनेमा अन्य सामाग्री जस्तै बिक्रीका लागि तयार पारिएको प्रोडक्ट भएकोले बेच्नका लागि बिज्ञापन गर्नै पर्ने प्रदीप भन्छन् । र, बिज्ञापन पनि रिलिज पछि अर्थ नराख्ने, अझ भनौ शुक्रबार बेच्न नसके सनिवार, आइतबार हुँदै बेच्नै नसकिने भएकोले आफू हरसम्भव प्रचारमा लागेको उनको तर्क छ । तर, उनी माउथ पब्लिसिटी बारे भने अन्जान भएझै देखिन्छ । त्यसो त प्रदीप आफुलाई सबै थाहा छ भन्ने भ्रम आफुसङै कुरा गरिरहेका व्यक्तिलाई छर्नमा माहिर मानिन्छन् । त्यसैले पनि आफ्ना क्रियाकलापलाई जस्टिफाई गर्न उनले यस्तो कुरा गरेको हुनपर्छ ।
सोही दिन अर्थात जेष्ठ १० गतेबाट नै अर्को अनमोल केसी र जसिता गुरुङ अभिनित सिनेमा ‘फर्की फर्की’ पनि लाग्दैछ । उक्त सिनेमा र ‘पुजार सार्की’ एक अर्कामा जुधाईएको भन्दै सिनेबजारमा चर्चा भैरहेको छ । यस्तोमा कलाकार सिनेमा प्रचारमा जता पुग्दा पनि ‘कुन सिनेमा चल्ला ?’ भन्ने प्रश्न आईनै रहने गर्छ । यसलाई सामान्य प्रश्नको रुपमा लिन सकिएला । यसको जवाफमा प्रदीपले अर्को सिनेमालाई घुमाउरो रुपमा ‘चोरीको सिनेमा’को आरोप लगाएका छन् । तर, त्यही आर्यन भने उक्त दिनमा ‘मैते’ चल्ने बताउछन् । मैते अर्थात मैतबहादुर यानिकी ‘पूजार सार्की’ सिनेमाका एक पात्र जस्को भुमिकामा प्रदीप देखिदैछन् ।
आर्यनका अनुसार दर्शकले मैतेलाई लामै समय सम्झिने छन् । अर्थात उनले अर्को सिनेमा चल्दैन भनेनन, नराम्रो छ पनि भनेनन, मेरै मात्रै राम्रो पनि भनेनन । उनले अब्बल काम र चरित्रको कारण मैते चल्ने जवाफ दिए भने प्रदीप हरेक पटक डिप्लोम्याटिक जवाफ दिएको देखाउन खोज्छन् । सिनेमा रिलिज नजिकिदै गर्दा उनले बोल्ने कुरा देखि देखाउने हाउभाउ सम्मले आम दर्शकमा उनको छवि धमिलिने सम्भावना बढ्न थालेको छ । चरित्रमा उनले ल्याएको बिबिधता राम्रो छ । मेहनत पनि गरेका छन् । तर गसिप मन पर्छ भन्दैमा आफैलाई घाटा पर्ने व्यवहार गर्नु भन्दा आर्यनले झै “विन विन” को सिद्धान्त पनि अपनाउन भने सकिन्छ नि प्रदीप जी ।